१२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपयोग गर्ने उद्योगीहरुलाई बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ।
आइतबार जारी सूचनामा प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म बाँकी रहेको विद्युत् महसुल आउँदो कात्तिक १७ भित्र बुझाउनुपर्ने जनाएको छ।
यसअघि बक्यौता रहेको उद्योगलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठसम्म निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। सोअनुसार वैशाख २६ र ३० गते सूचना पनि प्रकाशित गरिएको थियो। तर, प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको बैठकले पुनरावलोकन प्रक्रिया बन्द गर्ने निर्णय गरेपछि अब उद्योगीहरुले तोकिएको शुल्कअनुसारै तिर्नुपर्ने भएको हो।
प्राधिकरणका अनुसार उद्योगीहरुले टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा बनेको बिलअनुसार बक्यौता तिर्नुपर्नेछ। चाहेमा उद्योगीहरुले २८ किस्ता सम्म किस्ताबन्दीमा बुझाउने सुविधा पाउनेछन्।
तोकेको म्यादभित्र बक्यौता नबुझाए कानूनअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ।
















