१ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले मात्रै करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ। आन्दोलनकारीहरूले करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा बढी नगद लुटपाट गरेका छन्।
बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार, नयाँ बानेश्वर शाखाबाट मात्रै करिब १७ किलो ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको हो। बुधबार कायम भएको मूल्यअनुसार सुन र नगद गरी ३८ करोड ४० लाख रुपैयाँको क्षति भएको उनले बताए।
रेग्मीका अनुसार, बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ८५ हजार २७० रुपैयाँ कायम भएको थियो। त्यसै आधारमा आन्दोलनकारीहरूले बानेश्वर शाखाबाट मात्रै ३३ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन लुटेको देखिन्छ।
अन्य शाखामा पनि क्षति
बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट पनि नगद लुटिएको रेग्मीले बताए। उनका अनुसार भैरहवा ड्राइपोर्टमा १ लाख २८ हजार रुपैयाँ जलेको अवस्थामा भेटिएको छ।
बैंकका ढुकुटीमा भएको सबै नगद र सुन लुटिएको भने होइन। रेग्मीका अनुसार, लुटपाटमा परेको सुन धितोमा राखिएका गरगहना थियो, जुन उक्त शाखामा रहेको कुल धितोको करिब एक चौथाइ मात्र हो। बाँकी नगद र सुन सुरक्षित रहेको उनले स्पष्ट पारे।
भौतिक क्षति
लुटपाटसँगै बैंकको भवन, कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर र कागजातमा पूर्ण क्षति पुगेको छ। तर कर्जाका तमसुकहरू भने सुरक्षित रहेको रेग्मीले जानकारी दिए।
नेपाल बैंकर्स संघका अनुसार, देशभर आन्दोलनकारीहरूले बैंकका ६१ कार्यालयमा क्षति पुर्याएका छन्। कतिपय शाखामा एटीएम मेसिन तोडफोड, झ्यालढोका फुटाउने, फर्निचर भाँच्ने घटना भएका छन्।
डेभलपमेन्ट बैंकर्स संघका अनुसार, केही विकास बैंकका शाखामा सामान्य भौतिक क्षति पुगेको छ।
सरकारी कार्यालय र उद्योग पनि प्रभावित
२४ भदौको आन्दोलनमा सिंहदरबारसहितका सरकारी कार्यालयहरूमा ठूलो तोडफोड र आगजनी भएको थियो। त्यसैगरी केही उद्योग, व्यवसाय र उद्योगीका निजी निवासमा समेत आगजनी र तोडफोड भएका छन्।
















