मेयर बालेन साहले भोलिको र्‍यालीलाई Gen Z को स्वतःस्फूर्त आवाज भन्दै समर्थन जनाए

भदौ २२, काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमार्फत् भोलि हुन लागेको र्‍यालीलाई नयाँ पुस्ता अर्थात् Gen Z को स्वतःस्फूर्त आन्दोलन भएको बताएका छन्। उनले यसलाई कुनै पार्टी, संगठन वा नेताको स्वार्थसहितको राजनीतिक कार्यक्रम नभई युवाहरूको आफ्नै चाहना र भविष्यसँग जोडिएको आन्दोलनका रूपमा व्याख्या गरेका छन्।

साहले आफ्नो पोस्टमा उल्लेख गर्दै भनेका छन्, “भोलिको र्‍याली स्पष्ट स्वतःस्फूर्तरुपमा Gen Z को हो। उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु।” उनले हास्य मिश्रित शैलीमा तर गहिरो सन्देश दिँदै आफूले पनि नयाँ पुस्ताको दृष्टिकोण बुझ्न चाहेको बताएका छन्।

मेयर साहले उमेर हदबन्दीका कारण आफू प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रष्ट पारेका छन्। तर उनीहरूले ल्याउने विचार, माग र भविष्यप्रतिको दृष्टि बुझ्नु अत्यन्त जरुरी रहेको उनको भनाइ छ। उनले भनेका छन्, “मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ।”

साहले भोलिको र्‍यालीलाई कुनै राजनीतिक दल, सांसद, कार्यकर्ता वा अभियन्ताले आफ्नो स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरेका छन्। उनका अनुसार यो र्‍याली पूर्ण रूपमा स्वतःस्फूर्त भएकाले पार्टीगत रंग नचढाउनुपर्ने स्पष्ट सन्देश हो। “भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला,” उनले भनेका छन्।

साहले अन्ततः Gen Z पुस्तालाई नै सम्बोधन गर्दै एक महत्वपूर्ण प्रश्न उभ्याएका छन् —
“प्रिय Gen Z भन्नुस्, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”
यो प्रश्नले नयाँ पुस्ताको सपना, आकांक्षा र भविष्यप्रतिको जिम्मेवारीलाई जोड दिएको छ।

उनको यो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरै युवाहरूले मेयरको समर्थनलाई स्वागत गर्दै आफूहरूको आवाजलाई ठूला राजनीतिक शक्तिहरूले कब्जा नगर्ने अपेक्षा व्यक्त गरेका छन्। केहीले भने अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने बेला आएको टिप्पणी गरेका छन्।

विशेषज्ञहरूका अनुसार Gen Z पुस्ता पारदर्शिता, जवाफदेहिता, रोजगारी, आधुनिक शिक्षा, प्राविधिक विकास, वातावरणीय संरक्षण र समान अवसर चाहन्छ। उनीहरूले पुरानो शैलीको राजनीतिक हर्कत भन्दा व्यवहारिक सुधार र परिणाममुखी शासनव्यवस्था खोजिरहेका छन्।

राजनीतिमा स्वतन्त्र ढंगले उदाएका मेयर साह आफैं पनि नयाँ पुस्ताले उठाएका प्रश्नहरूको प्रतीक मानिन्छन्। उनले प्रष्ट रूपमा युवाहरूको आवाजलाई मान्यता दिँदै र समर्थन जनाउँदै आफू सधैं उनीहरूको पक्षमा रहने सन्देश दिएका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more