भदौ ६, जनकपुरधाम।राजश्री जनक विश्वविद्यालय, जनकपुरधाम क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी यूनियनले केही अज्ञात व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूको तस्वीर दुरुपयोग गर्दै अपमानजनक सामग्री प्रसारण गरेको भन्दै कडा आपत्ति जनाएको छ।
यूनियनले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल (विशेषगरी TikTok) मा विद्यार्थीको तस्वीर प्रयोग गरी असभ्य र अशोभनीय सामग्री फैलाइएको गुनासो प्राप्त भएपछि यसले विद्यार्थीको सम्मान, व्यक्तिगत मर्यादा र क्याम्पसको शैक्षिक वातावरणमा प्रतिकूल असर पार्ने भन्दै चासो व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीविरुद्ध गरिएका यस्ता गतिविधिहरू अस्वीकार्य छन्। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ।”स्ववियु अध्यक्ष प्रवेश यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको सम्मान र सुरक्षामाथि आक्रमण गर्ने कुनै पनि गतिविधि सहन नहुने चेतावनी दिइएको छ। साथै, यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई सार्वजनिक रूपमा समेत उजागर गर्दै आवश्यक कानुनी कारबाही अघि बढाइने उल्लेख गरिएको छ।
















