जनकपुरधाममा वकिलद्वारा पत्रकारमाथि आक्रमण, पत्रकार महासंघको भूमि कब्जा प्रयासको विरोध

श्रावण २७, जनकपुरधाम।  जनकपुरधाममा वकिलहरुको समूहले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी तथा पत्रकारहरुमाथि आक्रमण गरी कुटपिट गरेका छन्। घटनामा महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर रायसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। घाइतेमध्ये महासचिव क्रान्तिको पैताला भाँचिएको छ भने अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। पत्रकार दिवाकर रायको टाउकोमा चोट पुगेको छ। उनीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

यो घटना पत्रकार महासंघले गुठी संस्थानसँग लिजमा लिएको जग्गा नेपाल बार एसोसिएसन जनकपुरधामले बलजफ्ती कब्जा गर्न खोजेपछि भएको हो। गुठी संस्थानसँग विधिवत कानुनी प्रक्रिया पूरा गर्दै महासंघले २० वर्षका लागि ४ कट्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँ भाडामा लिजमा लिएको महासंघका अध्यक्ष बन्जाराले जानकारी दिए।

उनका अनुसार, गुठी संस्थानसँग सम्झौता भइसकेपछि बारले बिना अधिकार उक्त जग्गामा आफ्नो गाडी पार्किङ गराउन सूचना जारी गरेको थियो। यस विषयमा दुवै पक्षबीच वार्ता र मौखिक सहमति पनि भएको भए पनि, अनावश्यक पूर्वाग्रहका कारण बार पक्षले कब्जा गर्ने प्रयास गरेको अध्यक्ष बन्जाराको आरोप छ।महासचिव क्रान्तिले जग्गा लिज प्रक्रियाको सम्पूर्ण विवरण सार्वजनिक गर्दै गुठी संस्थानले खुला प्रतिस्पर्धा मार्फत प्रस्ताव आह्वान गरी प्राविधिक तथा आर्थिक प्रस्तावमा महासंघ विजयी भएको स्पष्ट पारे। अन्य संघसंस्थाका प्रस्ताव अस्वीकृत भएपछि गुठीले महासंघलाई जग्गा प्रदान गर्ने निर्णय गरेको र त्यसको सूचना गोरखापत्रमा प्रकाशित भएको उनले बताए।

पत्रकार महासंघले यस आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षामाथिको गम्भीर हमला भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ। महासंघको भनाइमा, कानुनी पेशामा आवद्ध व्यक्तिहरुबाट यस प्रकारको हिंसात्मक र गैरकानुनी गतिविधि हुनु लोकतन्त्र र न्यायिक मर्यादामाथिको प्रश्न हो।

 

 

  • सम्बन्धित समाचारहरु

    २५ वटै वडा बलियो बनाउने प्रतिबद्धतासहित लाल बाबू मिश्रको उम्मेदवारी

    Read more

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    Leave a Reply