रक्षाबन्धन विशेष : मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुलमा राखी बनाउने प्रतियोगिता

श्रावण १६, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–७ मा अवस्थित मोडर्न नेपाल इङ्ग्लिस बोर्डिङ स्कुलमा आज विशेष सांस्कृतिक र भावनात्मक महत्व बोकेको राखी बनाउने प्रतियोगिता (Rakhi Making Competition) सम्पन्न भएको छ। प्रत्येक शुक्रबार विद्यालयमा हुँदै आएको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत राखी बनाउने प्रतियोगिता आयोजना गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

मिथिलाञ्चलको भाइबहिनीबीचको प्रेम, स्नेह र सुरक्षाको प्रतीकको रूपमा मनाइने रक्षाबन्धन पर्वको सन्दर्भलाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफैंले तयार पारेका रङ्गीचङ्गी राखीहरू प्रदर्शन गरे। उनीहरूले ती राखीहरू रक्षाबन्धनको दिन आफ्ना दाजुभाइलाई बाँध्ने बताएका थिए। बालमनोविज्ञान र सृजनात्मकताको अभिव्यक्तिको सुन्दर संयोजन प्रस्तुत गर्ने यस प्रतियोगितामा राखीमा प्रयोग गरिएका सामग्रीहरू – धागो, सिमा, मोती, रंगीन कागज, गोंद लगायत सबै पारंपरिक र वातावरणमैत्री सामग्रीहरू थिए।

विद्यालयका प्र.अ. दीपक ठाकुरले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिने जानकारी दिए। साथै, उनले भने –“यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृति बुझ्न, सीप प्रस्तुत गर्न र सृजनात्मक सोचको विकास गर्न प्रेरणा दिन्छ। रक्षाबन्धनको सन्दर्भमा राखी आफैं बनाउनु भनेको केवल सिर्जनात्मक कार्य मात्र होइन, सम्बन्धप्रतिको भावनात्मक सम्मान पनि हो।”

विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूमा सांस्कृतिक चेतना, आत्मविश्वास र सामाजिक मूल्यहरूको विकासमा सघाउ पुर्‍याउँदै आएको छ। अभिभावकहरूले पनि यस्ता कार्यक्रमहरूको खुलेर प्रशंसा गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply