श्रावण १५, जनकपुरधाम। धनुषाको जनकपुरधाममा घटेको १५ वर्षीया किशोरीको निर्मम हत्यापछि घटनाले स्थानीय समाजलाई स्तब्ध बनाइरहेको छ। हत्या आरोपमा प्रहरीले पीडित किशोरीकी आमाका प्रेमीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। गम्भीर घाइते अवस्थामा आमासहित अर्की किशोरी पनि उपचाररत छन्। यो घटना केवल पारिवारिक द्वन्द्व होइन, प्रेम, धोका, आक्रोश र विगतका अपराधबीचको त्रिकोणीय पृष्ठभूमिको भयावह परिणति बनेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरेको हो। उनीमाथि जनकपुर उपमहानगरपालिका–४, कटैयाचौरीस्थित डेरामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या गरेको आरोप लागेको छ।
साहलाई बुधबार राति साढे १० बजे पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनले खुकुरी प्रहार गरी अञ्जलीको हत्या गरेका थिए भने अञ्जलीकी आमा आशा यादव (३५) र उनको साथी राशा यादव (१४) गम्भीर घाइते भएका छन्। आशाको अवस्था नाजुक रहेको र हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
रामबाबु साह विगतमा पनि आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनी आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल बसेर २०७७ सालमा रिहा भएका थिए। रिहाइपछिको छोटो समयमै उनले जनकपुरमा व्यवसाय सञ्चालन गरिरहेकी आशा यादवसँग प्रेम सम्बन्ध सुरु गरे। आशाले पहिलेको श्रीमान्सँग छुट्टिएर रामबाबुसँग बस्न थालेपछि गाउँमै छलफलसमेत भएको र त्यसपछि दुवै अलग्गिएको खुलेको छ।
प्रहरी अनुसन्धान अनुसार, आर्थिक रूपमा सुधार हुँदै जाँदा आशा यादव रामबाबुसँग टाढिन थालिन्। उनले पुराना श्रीमान्सँग पुनः सम्पर्क बढाउन थालेपछि रामबाबु आक्रोशित बनेको देखिन्छ। उनले दिएको बयान अनुसार, आशाले उनलाई धोका दिइरहेको आभास भएपछि हत्या योजनाबद्ध ढंगले गरिएको हो।
रामबाबुले आशालाई अटो किनिदिएका थिए, तर उनले त्यो अटो आफ्ना भाइको नाममा नामसारी गरेपछि शंका बढेको थियो। त्यसमाथि आशाले रुम परिवर्तन गर्दा समेत रामबाबुलाई खबर नगरेको, फोन नउठाएको, रामबाबुको पूर्वश्रीमतीलाई समेत झगडामा तान्ने काम गरेको आरोप रामबाबुले प्रहरी समक्ष लगाएका छन्।
घटनाको केही महिना अघिदेखि नै सम्बन्धमा दरार आएको देखिन्छ। रामबाबुले गरेको बयान अनुसार, घटनाको दिन बारम्बार फोन गर्दा आशाले जवाफ नदिई छोरी अञ्जलीलाई फोन दिन लगाएकी थिइन्। अन्ततः बोल्दा पनि गालीगलौज भएपछि खुकुरी लिएर उनी कोठामा पुगेका थिए। त्यही आक्रोशमा उनले अञ्जलीमाथि हमला गरेका हुन्, जसको घटनास्थलमै मृत्यु भयो।
प्रहरी नायव उपरीक्षक एवं धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, “रामबाबु साह पूर्व सजाय भोगी अपराधी हुन्। उनले व्यक्तिगत रिसइवीका कारण योजनाबद्ध तरिकाले खुकुरी आक्रमण गरेका छन्। घटनामा गम्भीर रूपमा घाइते आशाको अवस्था चिन्ताजनक छ। अन्य पीडित किशोरीको पनि उपचार भइरहेको छ।”

















