श्रावण १५, मलङ्गवा, सर्लाही ।जनता समाजवादी पार्टी (जसपा), मधेस प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि भएको प्रहरी दुव्र्यवहारप्रति आक्रोशित जसपाले सर्लाही जिल्लामा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीले जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काद्वारा यादवमाथि गरिएको व्यवहारलाई ‘हेपाहा र दमनकारी’ भन्दै त्यसको प्रतिवादमा तीन चरणको जनप्रदर्शन आयोजना गर्न लागेको जनाएको छ।
जसपा सर्लाहीका अध्यक्ष शम्भु प्रसाद यादवद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “मा. अशोक यादव ज्यू माथि भएको हेपाहा व्यवहार, झुटा मुद्दा लगाएर फसाउने षड्यन्त्र, र उहाँका सुपुत्र ई. हृदेश यादवमाथि भएको प्रहरी कुटपिटको घटनाले मधेसमा लोकतन्त्र, सुशासन र नागरिक अधिकारमाथि ठूलो धक्का पुगेको छ।”
विज्ञप्तिमा भनिएको छ, “जिल्लाभित्र व्याप्त लुटतन्त्र, मनोपोलि र भ्रष्टाचारलाई संरक्षण दिने काम जिल्ला प्रहरीले गरिरहेको छ। यस्तो अवस्थामै जब अशोक यादवजस्ता जिम्मेवार नेतामाथि पनि झुटा मुद्दा लगाएर प्रतिशोधपूर्ण शैलीमा व्यवहार गरिन्छ भने आम नागरिकको सुरक्षाको अवस्था के होला भन्ने गम्भीर प्रश्न उठेको छ।”
पार्टीले सर्लाहीमा हालै सार्वजनिक भएको एक अडियो क्लिपको फरेन्सिक परीक्षण गरिनुपर्ने माग गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ।
जसपाले साउन २० गतेदेखि आन्दोलनको पहिलो चरण सुरु गर्ने जनाइएको छ। पार्टीद्वारा घोषित कार्यक्रमअनुसार:
विशाल लाठ्ठी / फराटा जुलुस – मिति: २०८२ साउन २०, मंगलवार समय: दिउँसो २ बजे मार्ग: जिल्ला विकास समिति (जि.वि.स.) चौक — नगरपालिका चौक — पुरानो जिल्ला प्रहरी कार्यालय — मलंगवा वडा नं. २ — झन्डा बजार — हालको जिल्ला प्रहरी कार्यालय — राजश्री चौक — सहिद पार्कमा कोणसभा। मसाल जुलुस –मिति: २०८२ साउन २१, बुधबारसमय: बेलुका ७ बजे,मार्ग: जि.वि.स. चौक — बसपार्क — नगरपालिका चौक — कोणसभा।अनिश्चित कालिनआम हडताल तथा यातायात बन्द – साउन २२ गते बिहीबारदेखि।
पार्टीले यस आन्दोलनलाई “संघीयता, सुशासन, समृद्धि र समाजवाद” को रक्षा गर्न र प्रहरी प्रशासनको दमन तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउन आयोजित गरिएको शान्तिपूर्ण संघर्षको रूपमा परिभाषित गरेको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “यस जिल्लामा भइरहेको वेथिति, भ्रष्टाचार, लुटतन्त्र, मनोपोलि र प्रहरी प्रशासनको दमन विरुद्ध न्यायप्रेमी सम्पूर्ण जनसमुदाय एकजुट भई यस शान्तिपूर्ण संघर्षलाई सफल बनाउन हार्दिक अपिल गर्दछौं।”

















