वीरगन्ज, असार १९— मुस्लिम समुदायको पवित्र पर्व मोहर्रम अन्तर्गत निकालिने ‘ताजिया’ (दाहा) जुलुसलाई शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गराउने उद्देश्यले वीरगन्जमा विशेष तयारी गरिएको छ। आगामी असार २२ गतेका लागि तय ताजिया कार्यक्रमलाई लक्षित गर्दै वीरगन्ज महानगरपालिका, सुरक्षा निकाय र मुस्लिम समुदायबीच समन्वयात्मक छलफल गरी विशेष प्रतिबन्धात्मक निर्णयहरू लिइएका छन्।
बिहीबार सम्पन्न छलफलमा ताजिया जुलुसलाई व्यवस्थित गर्न ६ बुँदे सहमति गरिएको छ। तीमध्ये सबैभन्दा महत्वपूर्ण निर्णयहरूमा—
👉 ताजिया जुलुसमा डिजे साउण्ड सिस्टमको प्रयोग पूर्णरूपमा निषेध गरिने छ।
👉 हातहतियारको प्रदर्शन कडाइका साथ बन्देज गरिनेछ।
👉 बालबालिकालाई ताजियामा सहभागी नगराउने निर्णय गरिएको छ।
👉 जुलुसका क्रममा जनस्वास्थ्यमा असर पार्ने गतिविधिहरू रोक्ने र सोप्रति सर्तकता अपनाउने भनिएको छ।
प्रत्येक वडाबाट निस्कने ताजिया जुलुसहरू घण्टाघर क्षेत्रमा एकत्रित गरिने व्यवस्था गरिएको छ। यस्ता जुलुसहरू व्यवस्थापन गर्न सम्बन्धित वडाबाट संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनुपर्नेछ।
कार्यक्रमको अनुगमन र समन्वयका लागि वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहको संयोजकत्वमा मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति गठन गरिएको छ। साथै, सम्पूर्ण कार्यक्रमको सुरक्षा व्यवस्थापन स्थानीय प्रहरी प्रशासनले गर्ने निर्णय पनि गरिएको छ।
यो सहमति अनुसार यस वर्षको मोहर्रम पर्व वीरगन्जमा संयमित, सुरक्षित र मर्यादित तरिकाले सम्पन्न गराउने अपेक्षा गरिएको छ। स्थानीय प्रशासन र समुदायबीचको यो सहकार्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अभिवृद्धि हुने विश्वास लिइएको छ।

















