बारा, असार १९ — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति शक्तिशाली विस्फोट भएको छ।
स्थानीय समयअनुसार राति करिब साढे ९ बजे फलाम पगाल्ने भट्टीमा अचानक विस्फोट भएको हो। स्थानीयवासीका अनुसार विस्फोट निकै शक्तिशाली थियो, जसको आवाज टाढासम्म सुनिएको र आसपासको जमिनसमेत थर्किएको थियो।
विस्फोटपछि सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका छन्। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले भट्टीमा विस्फोट भएको पुष्टि गरेका छन्। तर, भट्टी कसरी पड्कियो भन्ने कारण र यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म स्पष्ट भइनसकेको जोशीले जानकारी दिएका छन्,यद्यपि ५ जना मजदुर जलेर घाइते भएको र एक जना चालक को स्थित अज्ञात रहेको अपुष्ट खबर बाहिर आएको छ।
प्रहरी र उद्योग व्यवस्थापनले विस्फोटको कारण पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।



















