३ असोज, जनकपुरधाम। राष्ट्रिय एकता दल जनकपुरले वर्तमान संविधानका केही प्रावधानहरूप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेको छ।
संविधान निर्माणका क्रममा भएका त्रुटिहरू सच्याउनुपर्ने र धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै दलले प्रदर्शन गरेको हो। दिलिप मण्डलको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा मनिष पूर्वे, रणधीर यादव, श्याम साहसहित दर्जनौँ नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले “संविधानलाई स्वागत छ, धर्मनिरपेक्षता असैह्य छ!” र “संवैधानिक संशोधन गर, हिन्दूराष्ट्र घोषणा गर!” जस्ता नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि आफ्ना मागहरू बुलन्द पारेका थिए।
कार्यक्रममार्फत संविधानमा रहेका त्रुटिहरू सच्याउँदै राष्ट्रियता, लोकतन्त्र र हिन्दूराष्ट्रको संरक्षणका लागि आगामी दिनमा पनि संवैधानिक र लोकतान्त्रिक माध्यमबाट आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।


















