१ असोज, रौतहट ।प्रेमचन्द्र झा— रौतहटमा पत्रकार उपर आक्रमण कुटपिट तथा दुर्व्यवहारको घटनाका आरोपितहरू तीन दिनबितिसक्दा पनि पक्राउ नपरेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। नेकपा (एमाले) निकट नेपाल बौद्धिक परिषद् रौतहट तथा मधेश प्रदेशका अध्यक्ष एवं पत्रकार अनिल झामाथि गत सोमबार बिहान भएको भनिएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्न माग भइरहे पनि आरोपितहरू अझै प्रहरीको पहुँचबाहिर रहेको पीडित पक्षको दाबी छ।
झाका अनुसार सोमबार बिहान करिब १० बजेतिर काम विशेषले भारतको बैरगनिया जाने क्रममा कस्टम कार्यालयनजिकै गौर–५ का सुरेन्द्र गुप्तासहितको समूहले मोटरसाइकलमा रहेका आफूलाई रोकेर कुटपिट तथा दुर्व्यवहार गरेको थियो। घटनामा आफूलाई लक्षित गरी निर्घात कुटपिट गरिएको र ज्यानसमेत जोखिममा पार्ने किसिमको व्यवहार भएको झाको आरोप छ।
घटना भएको तीन दिन बितिसक्दा पनि आरोपित पक्राउ नपर्नुले सीमावर्ती क्षेत्रमा नेपाली नागरिकको सुरक्षा र कानुनी पहुँचको अवस्थामाथि प्रश्न उठाएको नेपाल बौद्धिक परिषद्ले जनाएको छ। परिषद्ले घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
परिषद्का जिल्ला कार्यसमिति सचिव महम्मद अतिउल्लाहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। पत्रकारसमेत रहेका जिल्ला अध्यक्ष झामाथि भएको घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै परिषद्ले घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
परिषद्ले सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपाली नागरिकमाथि कुटपिट र दुर्व्यवहारका घटना दोहोरिनु गम्भीर विषय भएको जनाएको छ। सीमापार जाने नागरिकले आफ्नो सुरक्षा र सम्मानका लागि समेत राज्यका संयन्त्रको भरोसा गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने परिषद्को भनाइ छ।
झाले भने बैरगनिया थानामा घटनासम्बन्धी एफआईआर दर्ता गराइसकेको बताएका छन्। त्यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटमा समेत प्रारम्भिक उजुरी दिएपछि मात्र आफ्नो घाउजाँच परीक्षण भएको उनको भनाइ छ। तर घटना सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि आफूलाई कुटपिट गरेको आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गर्ने विषयमा प्रहरीले कुनै चासो नलिएको पीडितले आरोप लगाए।
“घटना सीमापार भएको भए पनि नेपाली नागरिकमाथि भएको घटनाका विषयमा सम्बन्धित निकायबीच समन्वय गरेर अनुसन्धान अगाडि बढाउनुपर्छ,” झाको भनाइ छ, “उजुरी र घाउजाँच भइसकेपछि पनि आरोपित पक्राउ नपर्नु आफैंमा गम्भीर प्रश्न हो।”
घटनाबारे प्रहरीको अनुसन्धानको अवस्था र आरोपितहरूलाई पक्राउ गर्न गरिएको पहलका सम्बन्धमा सम्बन्धित प्रहरी अधिकारीहरु उदासीन देखिएको हो। पारीको घटना भनेर प्रहरी पन्छीन खोजेको वुझिएको छ
सीमावर्ती क्षेत्रमा हुने यस्ता घटनामा दुई देशका सुरक्षा तथा प्रशासनिक निकायबीचको समन्वय प्रभावकारी हुनुपर्ने नेपाल भारत मैत्री संघका अध्यक्ष गृष नन्दन कुमार सिंह को भनाइ छ। सीमापार व्यापार, रोजगारी, उपचार तथा दैनिक आवतजावतका लागि भारतीय बजारमा निर्भर नेपाली नागरिकले बाटोमा अपमान, कुटपिट वा अन्य दुर्व्यवहार सहनुपर्ने अवस्था आए त्यसले सीमावर्ती सम्बन्धमा समेत असर पार्न सक्ने अध्यक्ष सिंहले चिन्ता ब्यक्त गरेका छन ।
घटनामा संलग्न भनिएका व्यक्तिहरू कानुनी दायरामा नआएसम्म घटनाको वास्तविकता स्पष्ट नहुने भएकाले निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ। पीडित पक्षले घटनाको निष्पक्ष छानबिनसँगै दोषीमाथि कानुनअनुसार कडा कारबाहीको माग गरिरहेको छ भने प्रहरीमाथि पनि उजुरीपछि अनुसन्धानलाई तीव्रता दिनुपर्ने दबाब बढेको छ।
सीमापार भएको भनिएको एउटा कुटपिटको घटनाले अहिले व्यक्तिगत विवादको सीमाभन्दा बाहिर पुगेर नागरिक सुरक्षा, सीमावर्ती क्षेत्रमा कानुनी पहुँच र दुई देशका सुरक्षा निकायबीचको समन्वयमाथि बहस जन्माएको छ। घटनाको निष्पक्ष अनुसन्धान र आरोपितको कानुनी प्रक्रियाबाट हुने परीक्षणपछि मात्र आरोपको वास्तविकता र दोषी–निर्दोषको टुंगो लाग्नेछ।


















