भदौ ४, जनकपुरधाम।लोकेन्द्र, कानूनी शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर दुई संस्थाहरू नेपाल बार एशोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेश बीच उत्पन्न विवाद आपसी सहमतिको सहमतिपत्रमा टुंगिएको छ।उच्चस्तरीय वार्ता समितिको पहल, प्रयास र सफल मध्यस्थतापछि आइतबार दुवै संस्थाले हस्ताक्षरमार्फत ऐतिहासिक सहमति गरेका छन्। यससँगै लामो समयदेखि जारी विवादको शान्तिपूर्ण निकास भएको हो।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बजाज्रा र नेपाल बार एशोसिएसन, जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जनकपुरधामस्थित दुई संस्थागत जग्गा सम्बन्धी विवादलाई अन्त्य गरिएको जानकारी दिएका छन्। सहमतिअनुसार, दुवै संस्थाले विवादित जग्गा आफ्ना आफ्ना नाममा बाँडफाँड गरी लिजमा लिएर प्रयोग गर्ने भएका छन्।
साथै, विवादका क्रममा भएका घटनाप्रति दुबै संस्थाले दुःख व्यक्त गर्दै भविष्यमा यस्ता घटनाबाट टाढा रहन प्रतिबद्धता जनाएका छन्। विज्ञप्तिमा जनकपुरधाममा लोकतान्त्रिक मूल्य र संविधानको पक्षमा पत्रकार महासंघ र बार एशोसिएसनले अझै बलियो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।
सहमतिको क्रममा नेपाल बार एशोसिएसनका तर्फबाट महासचिव अधिवक्ता बाबुराम महतो संयोजकत्वमा बनेको समितिमा केन्द्रिय सदस्य अधिवक्ता चन्द्रकुमार झा, अधिवक्ता श्यामकुमार मिश्र सदस्य रहेका थिए। त्यस्तै, नेपाल पत्रकार महासंघतर्फबाट केन्द्रिय लेखा समिति संयोजक के.सी. लामिछाने संयोजकत्वमा केन्द्रिय सदस्य राजेश कुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेका थिए।

















