साउन १४ ,काठमाडौ ।नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट औपचारिक रूपमा हटाएको छ। पार्टीको अनुशासन समितिको निर्णय अनुसार श्रेष्ठलाई पार्टीको विधान विपरीत कार्यवाहक अध्यक्ष तोक्नेलगायतका कार्यको कारण देखाउँदै अध्यक्ष पदबाट हटाइएको हो।
नाउपाले रञ्जितालाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा मंगलबार आधिकारिक रूपमा दर्ता गराइसकेको छ। पार्टीले दिएको जानकारीअनुसार पोखराको चर्चित ‘लिचीबारी घुसकाण्ड’ मा मुछिएपछि श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। तर, यो कदम पार्टीभित्रै विवादास्पद बनेको थियो।
पार्टीका अनुशासन समिति संयोजक रामलाल डगौराको नेतृत्वमा बसेको बैठकले रञ्जितासँग उक्त विषयमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण माग गरेको थियो। तर, श्रेष्ठले तोकिएको समयभित्र कुनै जवाफ नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय लिइएको हो।अनुशासन समितिमा सदस्यहरूका रूपमा सुनिता चौधरी र पुण्य बुढा रहेका छन्। समितिको उक्त निर्णयलाई पार्टीले यही साता काठमाडौंको मध्यबानेश्वरमा आयोजना हुने राष्ट्रिय भेलामार्फत अनुमोदन गर्ने तयारी गरेको छ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, “श्रेष्ठले पार्टीको विधान विपरीत कार्यसम्पादन गरेकाले अनुशासनको उल्लंघन मानिएको छ। पार्टीमा अनुशासन कायम राख्नुपर्ने बाध्यता अनुसार निर्णय गरिएको हो।”यद्यपि, रञ्जिता श्रेष्ठले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेकी छैनन्। तर, उनका पक्षधर केही नेता तथा कार्यकर्ताहरूले यो निर्णय एकपक्षीय भएको भन्दै आन्तरिक विरोध जनाउन थालेका छन्।
यस घटनापछि नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पुनः हलचल देखिएको छ। रञ्जिता श्रेष्ठले पूर्व सभामुख रेसम चौधरीको रिहाइपछिको राजनीतिक परिस्थितिमा पार्टीलाई संगठित गर्दै नेतृत्व लिएकी थिइन्। तर पछिल्लो समय पार्टीभित्रको गुटबन्दी, घुसकाण्ड तथा अनुशासनहीनताको आरोपका कारण उनी विवादमा तानिँदै आएकी थिइन्।
अब पार्टीको नेतृत्व कसले लिने भन्ने विषयमा स्पष्टता आउन बाँकी छ। अध्यक्ष पद रिक्त भएको अवस्थामा आगामी राष्ट्रिय भेलाबाट नयाँ अध्यक्ष चयन गरिने सम्भावना पार्टीका स्रोतहरूले बताएका छन्।यो घटनाले नाउपाको संगठन, विश्वसनीयता र आगामी रणनीतिमा ठूलो असर पार्ने अनुमान गरिएको छ। पार्टीको राजनीतिक भविष्य कता मोडिने भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुँदै गएको छ।
















