स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखविरुद्ध तालाबन्दी, कक्षाहरु यथावत सञ्चालन

मंसिर २०, जनकपुरधाम। – राजर्षि जनक विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसमा क्याम्पस प्रमुखले गोप्य रूपमा र औपचारिक सूचना बिना नै आफ्नै कार्यकक्षभित्र प्रवेश परीक्षा सञ्चालन गरेको आरोपपछि विद्यार्थी राजनीतिमा तनाव सिर्जना भएको छ। उक्त घटनापछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस प्रमुखको तत्काल राजीनामा माग गर्दै उपकुलपति, रजिष्ट्रार तथा क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको छ।

स्ववियुका पदाधिकारीका अनुसार शैक्षिक क्यालेन्डरअनुसार सूचना प्रकाशित नगरी पारदर्शी प्रक्रिया अपनाउनुपर्ने प्रवेश परीक्षा क्याम्पस प्रमुखले व्यक्तिगत कक्षमा गोप्य रूपमा सञ्चालन गर्नु गैरकानुनी, अनैतिक र विश्वविद्यालयको मर्यादाविपरीत कदम हो। विद्यार्थीहरूले यस्तो गतिविधिले विश्वविद्यालयको विश्वसनीयता गम्भीर रूपमा प्रभावित भएको, प्रशासनिक कमजोरी देखिएको र प्रवेश प्रक्रियामै निस्पक्षता विवादित बनेको आरोप लगाएका छन्।

यसैबीच, स्ववियु सभापति प्रवेस यादवले सबै शैक्षिक कक्षाहरू यथावत् सञ्चालन भइरहेको स्पष्ट गर्दै तालाबन्दी क्याम्पस प्रमुख, उपकुलपति र रजिस्ट्रार  को कार्य कक्षमा मात्र गरिएको जानकारी दिएका छन्। उनका अनुसार विद्यार्थीहरूको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले नियमित पठन–पाठन निरन्तर राखिएको छ।

विद्यार्थी युनियनले क्याम्पस प्रमुखमाथि छानबिनसहित तिनको तत्काल राजीनामा नआएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएको छ। उता विश्वविद्यालय प्रशासनले घटना सम्बन्धी विवरण संकलन भइरहेको बताएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more