सोमबारदेखि पुनः १४.२ किलो ग्यास सिलिन्डर वितरण हुने

९ बैशाख , काठमाडौ ।  — बजारमा देखिएको एलपीजी ग्यास अभाव समाधान गर्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ (७.१ किलो) नीति व्यवसायीहरूले अस्वीकार गरेका छन्। ग्यास व्यवसायीहरूले सोमबारदेखि पुनः १४.२ किलोकै ग्यास सिलिन्डर बजारमा उपलब्ध गराउने घोषणा गरेका छन्।
ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच मंगलबार बसेको संयुक्त बैठकले पूर्ण तौलको ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार व्यवसायीहरूले सरकारको औपचारिक निर्णय नपर्खी उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न यस्तो कदम चालिएको हो।
अर्यालले डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च अत्यधिक बढेको र व्यवसाय सञ्चालन नै कठिन बनेको बताए। “आधा सिलिन्डर नीतिले व्यवसायी र उपभोक्ता दुवैलाई समस्या परेको छ,” उनले भने, “ढुवानी खर्च नसमेटिएसम्म हामीले कारोबार धान्न सक्दैनौं।”
उनका अनुसार उद्योगहरूमा हाल ग्यास पर्याप्त मौज्दातमा रहेको छ। तर आधा सिलिन्डर मात्र वितरण गर्ने व्यवस्थाले स्टक व्यवस्थापनमा समस्या आएको र भारतबाट आएका ग्यास बुलेटसमेत अनलोड गर्न नसकिएको अवस्था सिर्जना भएको छ।
व्यवसायीहरूले चेतावनी दिँदै भनेका छन् कि वर्तमान अवस्था यथावत् रहेमा आगामी दुई महिनाभित्र देशमा ग्यासको चरम अभाव हुन सक्छ। उनीहरूले नेपाल आयल निगमको नीति अदूरदर्शी भएको आरोप लगाउँदै तत्काल सुधार गर्न माग गरेका छन्।
सरकारसँग पटक–पटक छलफल गर्दा पनि ठोस समाधान ननिस्किएको गुनासो गर्दै व्यवसायीहरूले आफ्नो व्यावसायिक अस्तित्व जोगाउन बाध्य भएर निर्णय लिनुपरेको बताएका छन्। डिजेल मूल्यवृद्धिका कारण ढुवानी तथा अन्य खर्च बढेकाले अब घाटा सहेर ग्यास बिक्री गर्न नसकिने उनीहरूको अडान छ।

  • सम्बन्धित समाचारहरु

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more

    युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो” : मन्त्री पोखरेल

    Read more