सुनसरीमा एपीएफको गोली प्रहारबाट स्थानीय युवकको मृत्यु

पुस १७, सुनसरी । सुनसरीमा सशस्त्र प्रहरी बल (एपीएफ)ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको गोली लागेर मृत्यु भएको हो।

घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली साहलाई लागेको थियो।
प्रहरीका अनुसार साह आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरी भारतबाट नेपालतर्फ आउँदै थिए। सवारी रोक्ने क्रममा मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच विवाद भएको र त्यसपछि गोली चलेको बताइएको छ।

घटनापछि आक्रोशित स्थानीयले शव उठाउन नदिँदै घटनास्थलमै प्रदर्शन गरिरहेका छन्। स्थानीयवासीले भने लेनदेनको विवादका कारण साहमाथि गोली प्रहार गरिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको र सोही क्रममा एक जनाको मृत्यु भएको दाबी गरे।
“चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भयो, त्यसपछि एपीएफले जवाफी फायरिङ गरेको हो,” उनले भने।
हाल घटनास्थलमा प्रहरी परिचालित रहेको छ भने कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more