१९ साउन, सुनसरी । — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
२२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनामा घाइते भएका अर्का एक जनाको भने हाल वीर अस्पतालमा उपचार भइरहेको छ।
यसअघि उक्त घटनामा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भइसकेको थियो। साथै, घटनासँग सम्बन्धित आन्दोलनका क्रममा सिरहामा गणेश यादवको पनि ज्यान गएको थियो।
रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी–सिरहा घटनापछि भएको आन्दोलनमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

















