विश्वासको मतका लागि बोलाइएको बैठक मुख्यमन्त्री नआएपछि दुई घण्टादेखि रोकियो

मंसिर १७,जनकपुरधाम । — विश्वासको मत लिने कार्यसूची अनुसार तोकिएको समयभन्दा करिब दुई घण्टा बितिसक्दा पनि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेशसभामा नपुगेपछि बैठक सुरु हुन नसकेको छ।

प्रदेशसभाको बैठक बिहान ८ः३० बजे सुरु हुने भनिए पनि मुख्यमन्त्री उपस्थित नहुँदा प्रदेशसभा सचिवालय, सांसद तथा सभामा उपस्थित दर्शक–तह सबै ‘प्रतीक्षारत’ अवस्थामा बस्न बाध्य भएका छन्।

एक प्रदेस सान्सदका अनुसार “विश्वासको मत प्रस्तुत गर्ने मुख्यमन्त्री यादव नै प्रदेशसभामा नआएकाले बैठकमा ढिलाइ भएको हो।”
यता, मुख्यमन्त्री यादव भने अहिले पनि जनकपुरस्थित सरकारी निवासमै रहेको जानकारी प्राप्त भएको छ।

बैठकअघि बसेको कार्य परामर्श समितिले संविधानको धारा १६८ अनुसार विश्वासको मत प्रक्रिया आजै सम्पन्न गर्ने कार्यसूची तय गरिसकेको थियो। तर त्यसको मुख्य व्यक्ति—मुख्यमन्त्री नै सभामा अनुपस्थित भएपछि सम्पूर्ण प्रक्रिया रोकिएको छ।

मुख्यमन्त्री यादवले सोमबार सर्वोच्च अदालतले दिएको परमादेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश जारी भए पनि आफूले पत्र मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको दाबी गर्दै बुधवार दिउँसो २ बजे बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए।

तर प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीको माग अस्वीकृत गर्दै बुधवार बिहान ८ः३० बजे नै बैठक बोलाएको थियो।
यसरी दुई पक्षबीचको समय–सम्बन्धी विवादकै बीच आजको बैठक ‘मुख्यमन्त्रीको प्रतीक्षा’मै अड्किएको हो।

प्रदेशसभा परिसरमा दलका सांसदहरू, कर्मचारी तथा उपस्थित सर्वसाधारणबीच मुख्यमन्त्री कहिले सभामा उपस्थिति जनाउँछन् भन्ने चर्चा–बहस चलिरहेको छ।
अदालतको परमादेश, सचिवालयको अडान र मुख्यमन्त्रीको विलम्ब—तीनै पक्षबीचको समय प्रबन्धनको जटिलताले राजनीतिक वातावरण झनै तनावपूर्ण बनेको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more