९ अषाढ, काठमाडौ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पक्राउ परेका आरोपी विष्णु प्रसाद पौडेलमाथि थप अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद थप गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले पक्राउ पुर्जी स्वीकृत गर्दै अनुसन्धान प्रयोजनका लागि पहिलो पटक सात दिनको म्याद थप गरेको अदालतले जनाएको छ।
अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो। आदेशअनुसार पौडेललाई न्यायिक हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि लागेको आरोपबारे थप प्रमाण संकलन तथा अनुसन्धान जारी राख्न म्याद थपको माग गरेको थियो। सोही मागअनुसार अदालतले सात दिनको समय उपलब्ध गराएको हो।
पौडेलमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। विभागले अनुसन्धान निष्कर्षमा पुगेपछि थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।



















