रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने प्रस्ताव गरेको दाबी

पुस ८, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई आउँदो निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने प्रस्ताव गरेको दाबी गरिएको छ। विश्वस्त स्रोतहरूका अनुसार रास्वपा नेतृत्वले बालेनलाई पार्टीमा सम्मानजनक पदसहित प्रवेश गराएर भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने रणनीतिमा छलफल अघि बढाएको हो।
स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा पुगेर बालेनसँग लामो छलफल गरेका थिए। उक्त भेटमा रविले बालेनलाई औपचारिक रूपमा पार्टीमा सहभागी हुन आग्रह गर्दै आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ।
झण्डै पाँच घण्टाभन्दा बढी चलेको वार्तापछि रवि लामिछाने र बालेन एउटै गाडीमा त्यहाँबाट बाहिरिएको दृश्यले राजनीतिक वृत्तमा थप चासो र अड्कलबाजी जन्माएको छ। यस भेटपछि नेपाली राजनीतिमा ‘भूकम्प’ जस्तै हलचल आएको चर्चा सुरु भएको छ।
यद्यपि बालेन साहले रास्वपामा प्रवेश वा प्रधानमन्त्रीको प्रस्तावबारे सार्वजनिक रूपमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। रास्वपाका शीर्ष नेताहरूले पनि यस विषयमा खुला टिप्पणी गर्न चाहेका छैनन्। तर स्रोतहरूका अनुसार पछिल्ला दिनमा स्थापित दलप्रति बढ्दो असन्तुष्टि, जेन–जी मतदाताको प्रभाव र वैकल्पिक नेतृत्वको खोजीका कारण बालेनलाई राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा ल्याउने प्रयास तीव्र भएको हो।
यदि बालेन रास्वपाबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्छन् भने त्यसले परम्परागत शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्न सक्नेछ। आगामी निर्वाचनको सन्दर्भमा यो सम्भावित गठजोड र नेतृत्व प्रस्तावले देशको राजनीतिक धार नै परिवर्तन गर्न सक्ने  छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more