१२ चैत, जनकपुरधाम। — रामनवमी का अवसरमा शोभायात्रा तथा र्याली नगर्न जिल्ला प्रशासनले दिएको निर्देशनविरुद्ध राष्ट्रिय एकता दल ले कडा आपत्ति जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा द्वारा चैत १२ गते जारी गरिएको पत्रअनुसार जिल्ला सुरक्षा समिति बैठकले हालको अवस्थामा कुनै पनि सभा, जुलुस, र्याली तथा प्रदर्शन गर्न उपयुक्त नहुने निर्णय गर्दै रामनवमीका दिन शोभायात्रा, बाइक र्याली लगायतका कार्यक्रम नगर्न/नगराउन निर्देशन दिएको थियो।
तर उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै दलका प्रदेश अध्यक्ष मनिष पुर्वे ले सो कदम अस्वीकार्य रहेको बताएका छन्। उनले नेपालको संविधानले दिएको धार्मिक स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै प्रशासनको निर्णय “गलत, पक्षपातपूर्ण र असंवैधानिक” रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार रामनवमीको अवसरमा शोभायात्रा तथा धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिनेछ र प्रशासनको निर्देशनले धार्मिक अधिकार नखोस्ने दाबी गरिएको छ।
त्यस्तै, सुरक्षाको नाममा नागरिक अधिकार कुण्ठित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिँदै यदि शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना भए त्यसको जिम्मेवारी प्रशासनले नै लिनुपर्ने बताएका छन्।
राष्ट्रिय एकता दलले सम्बन्धित निकायलाई उक्त निर्णय तत्काल फिर्ता लिन र धार्मिक कार्यक्रमहरूलाई सहज रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।



















