माग पूरा नभए फागुन २१ मा निर्वाचन हुन नदिने दुर्गा प्रसाईंको चेतावनी

पुस ६, काठमाडौ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू र जेनजी युवापुस्ताले अघि सारेका मागहरू सम्बोधन नभए आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नागरिक बचाउ अभियानका माग पूरा गर्न सरकारलाई पुस १० गतेसम्मको अल्टिमेटम दिइएको जानकारी दिए। उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई वार्ताको नाममा आफूहरूलाई ‘जिस्क्याउने’ काम नगर्न आग्रहसमेत गरे।

प्रसाईंले आफ्नो अभियानलाई ६० भन्दा बढी राजनीतिक दल तथा जेनजी पुस्ताको समर्थन रहेको दाबी गरे। उनका अनुसार आफूहरू र जेनजी समूहका माग पूरा भए मात्र देशमा निर्वाचन हुनुपर्ने धारणा रहेको छ।
“यदि हाम्रा र जेनजीका मागहरू पूरा भए भने मात्रै देशमा चुनाव हुन्छ, नभए किन चुनाव चाहियो ? फेरि उही मान्छेहरू ल्याउन ? त्यसकारण फागुन २१ गते चुनाव हुँदैन,” उनले भने। उनले सरकारले पुस १० गतेसम्मको समय पाएको उल्लेख गर्दै उक्त अवधिभित्र मागप्रति गम्भीर नभए निर्वाचन प्रक्रिया अवरुद्ध गरिने चेतावनी दोहोर्‍याए। त्यसैगरी प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमी शक्तिहरूको डिजाइनमा बनेको आरोप पनि लगाए।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more