महोत्तरी प्रशासनद्वारा वर्षा र बाढीजन्य जोखिमका लागि उच्च सतर्कता अपनाउन अनुरोध

कार्तिक १३, जलेश्वर ।हाल देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै महोत्तरी जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता र पूर्वतयारीका लागि सर्वसाधारणलाई अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पौडेलले हस्ताक्षर गरेको सूचना अनुसार वर्षा र बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय तथा नागरिक सबैलाई सचेत रहन आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, “बाढी तथा जलमग्न हुन सक्ने स्थान र बस्तीका व्यक्तिहरूले सुरक्षित क्षेत्र (अस्थायी) मा आवश्यक पर्दा स्थानान्तरण हुने गरी पूर्वतयारी गर्नुपर्नेछ।” साथै स्थानीय तहहरूलाई पनि सुरक्षा तयारी, उद्धार कार्य योजना र आपतकालीन अवस्थाको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

कार्यालयले बाढी र वर्षाको कारणले नदी किनार तथा कमजोर तटबन्धका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन, आवतजावतमा सावधानी अपनाउन र अनावश्यक रूपमा जोखिमपूर्ण क्षेत्रमा नजान सबै नागरिकलाई आग्रह गरेको छ।

त्यस्तै, बाढीबाट प्रभावित हुन सक्ने धानलगायतका बालीनाली समयमै कटानी गरी सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा कुनै पनि आकस्मिक घटना वा जोखिमको जानकारी तुरुन्त नजिकको प्रहरी वा प्रशासनिक निकायमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more