भ्रष्टाचार नियन्त्रण र धार्मिक सम्पदा संरक्षणको माग गर्दै ज्ञापनपत्र

२२ चैत, जनकपुरधाम। — मधेश प्रदेशका युवा नागरिकहरूले प्रदेशमा बढ्दो भ्रष्टाचार नियन्त्रण तथा धार्मिक सम्पदाको संरक्षणको माग गर्दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायत विभिन्न मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाएका छन्। कुश क यादवको नेतृत्वमा गएको युवाहरूको समूहले प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा प्रदेशमा बढ्दो भ्रष्टाचार, घूसखोरी तथा अधिकारको दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। केही नेता तथा कर्मचारीहरूको गलत गतिविधिका कारण मधेश प्रदेशको छवि प्रभावित भएको र आम नागरिक प्रत्यक्ष रूपमा मारमा परेको उल्लेख गरिएको छ।
त्यसैगरी, जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ कुटी ७२ कुण्ड तथा गुठी अन्तर्गतका जमिनमा भइरहेको अतिक्रमण, दुरुपयोग र अनियमितताप्रति पनि युवाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। यी सम्पदाहरू धर्म, संस्कृति र पहिचानसँग जोडिएका अमूल्य धरोहर भएकाले संरक्षण राज्यको प्रमुख दायित्व रहेको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमार्फत युवाहरूले भ्रष्टाचार अन्त्य गर्न कडा कदम चाल्न, दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न, गुठी जमिनको अभिलेख व्यवस्थित गरी अतिक्रमण हटाउन, ५२ कुटी ७२ कुण्डको संरक्षण तथा व्यवस्थापन गर्न, प्रशासनमा पारदर्शिता कायम गर्न र जनगुनासोको छिटो समाधान गर्न माग गरेका छन्।
समयमै आवश्यक पहल नगरिए लोकतान्त्रिक माध्यमबाट आवाज उठाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more