भदौ २९, काठमाडौ । राजधानीस्थित बौद्धको भाटभटेनी सुपरमार्केट भित्र पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल फेला परेका छन् । शनिबार बिहान निरीक्षण गर्ने क्रममा सुरक्षाकर्मीले ती कङ्काल भेटाएको पुष्टि गरेका छन् ।
घटनापछि सम्पूर्ण क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले प्रारम्भिक रूपमा कङ्काल मानिसकै भएको देखिएको र यसबारे थप वैज्ञानिक परीक्षण भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले भाटभटेनी सुपरमार्केटमा अघिल्लो दिन भएको आगलागीसँगै यस घटनाको सम्बन्ध हुन सक्ने अनुमान गरेको छ । तर शव कसरी भित्र पर्न गए, पहिचान कसरी गर्ने भन्ने विषयमा अझै अस्पष्टता रहेको छ ।
स्थानीयवासीले घटना निकै डर लाग्दो भएको बताउँदै छिटो छानबिन गरी सत्य बाहिर ल्याउन आग्रह गरेका छन् । यता प्रहरी स्रोतका अनुसार डीएनए परीक्षणमार्फत शवको पहिचान गर्ने तयारी भइरहेको छ ।
















