बालेन शाह झापा–५ बाट चुनावी मैदानमा आउने चर्चाले ओलीको रणनीतिमा फेरबदलको संकेत

माघ १, काठमाडौ । भावी प्रधानमन्त्रीको रूपमा चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले झापा–५ बाट चुनावी राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेको चर्चा चर्किँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक रणनीतिमा पनि फेरबदल देखिन थालेको छ।

राजनीतिक वृत्तमा चलिरहेको चर्चाअनुसार, लामो समयदेखि झापा–५ लाई आफ्नो सुरक्षित निर्वाचन क्षेत्रका रूपमा लिँदै आएका ओली यसपटक त्यहाँबाट उम्मेदवार नबन्ने र जन्मथलो तेह्रथुमबाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेको बताइन्छ। ओली निकट स्रोतहरूका अनुसार ‘झापा बनाएँ, अब जन्मथलो बनाउँछु’ भन्ने सन्देशसहित उनी पूर्वी पहाडी जिल्लातर्फ केन्द्रित हुन थालेका हुन्।

बालेन शाहको सम्भावित आगमनले झापा–५ को राजनीतिक समीकरण नै बदलिने आँकलन हुन थालेपछि एमालेभित्र वैकल्पिक रणनीति निर्माणको प्रक्रिया अघि बढेको बुझिन्छ। बालेनलाई युवापुस्ताको समर्थन, शहरी मतदाता र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा हेरिँदै आएको छ, जसले स्थापित दलका नेताहरूलाई नयाँ हिसाब–किताब गर्न बाध्य बनाएको विश्लेषण गरिँदैछ।
ओली जन्मथलो तेह्रथुम फर्किएर चुनाव लड्ने तयारीमा जुटेमा त्यसले एमालेको ‘पूर्वी पहाड केन्द्रित राजनीति’ लाई पुनः सक्रिय बनाउने अपेक्षा पनि गरिएको छ। साथै, यसले झापा–५ मा एमालेले नयाँ अनुहार अघि सार्ने सम्भावना समेत बढाएको छ।
यद्यपि बालेन शाहले अहिलेसम्म औपचारिक रूपमा चुनाव लड्ने घोषणा गरेका छैनन् र ओली पक्षबाट पनि निर्वाचन क्षेत्र परिवर्तनबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन। तर, यी चर्चाले आगामी निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने संकेत देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more