बंगलादेशमा हिन्दुविरुद्ध हिंसा बढ्दो, दीपू चन्द्र दास हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

पुस २५, ढाका।  बंगलादेशमा हिन्दु समुदायलाई लक्षित हिंसाका घटनाहरू बढ्दै गएका छन्। पछिल्लो समय एक गार्मेन्ट कारखानामा कार्यरत हिन्दु युवक दीपू चन्द्र दासको निर्मम हत्या र त्यसपछि शव सार्वजनिक रूपमा जलाइएको घटनाले अन्तर्राष्ट्रिय स्तरमै चासो र आक्रोश पैदा गरेको छ। घटनापछि विभिन्न स्थानमा युनुस सरकारविरुद्ध प्रदर्शनसमेत भएका छन्।

स्थिति गम्भीर बन्दै गएपछि बंगलादेशी प्रहरी कारबाहीमा उत्रिएको छ। दीपू चन्द्र दास हत्या प्रकरणका मुख्य आरोपी यासीन अराफातलाई प्रहरीले पक्राउ गरेको छ। ‘इन्डिया टुडे’का अनुसार अराफात पूर्व शिक्षक हुन् र यही हत्याकाण्डको सम्पूर्ण योजना बनाउने व्यक्ति भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार दीपू दासको हत्या भएपछि अराफात उक्त क्षेत्रबाट फरार भई लुकेका थिए। खोजतलासपछि उनलाई बिहीबार पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा अराफातले नै भीड जम्मा पारेर दीपू दासमाथि आक्रमण गर्न उक्साएको खुलेको प्रहरीले जनाएको छ।
गत १८ डिसेम्बरमा बंगलादेशको मयमनसिंह जिल्लामा दीपू चन्द्र दासमाथि ईशनिन्दाको आरोप लगाइएको थियो। त्यसपछि उनलाई कारखानाबाट निकालिएको र आक्रोशित भीडले कुटपिट गर्दै हत्या गरेको बताइएको छ। हत्या पछि उनको शव एक चोकमा झुण्ड्याएर पेट्रोल खन्याई आगो लगाइएको थियो।
प्रहरीका अनुसार अराफातले भीडलाई मात्र उक्साएनन्, स्वयं पनि घटनास्थलमा पुगेर दीपू दासलाई तानेर रुखमा बाँधेर आगो लगाउने कार्यमा संलग्न थिए। उनी सोही क्षेत्रका बासिन्दा हुन् र एक मस्जिदमा अध्यापन गराउँदै आएका थिए। पक्राउपछि उनको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच पछिल्लो समय बंगलादेशमा अन्य हिन्दुहरूको हत्या भएका घटनाहरू पनि सार्वजनिक भएका छन्। जनवरी ५ मा मोनी चक्रवर्तीको हत्या भएको थियो। सोही दिन एक अखबारका सम्पादक राणा प्रतापको पनि अज्ञात समूहद्वारा हत्या गरिएको थियो। यसअघि खोकन चन्द्र दासमाथि आक्रमण भई लामो समय उपचारपछि मृत्यु भएको थियो भने अमृत मण्डललाई पनि भीडले कुटपिट गरी मारिएको थियो।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more