फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन हुने : गृहमन्त्री अर्याल

कार्तिक २२, काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले शीघ्र विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित “राष्ट्रिय वृहत आर्थिक बहस २.०” कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अर्यालले देशमा सुशासन र कानूनी राज्य कायम गर्न अब कुनै पनि ढिलाइ नगरिने स्पष्ट सन्देश दिए ।

उनले भने, “हतियार र कैदीहरूलाई फिर्ता गर्नका लागि पटक–पटक सूचना जारी गरेका छौँ । स्वेच्छाले आएकाहरूलाई कानूनी रूपमा सहजीकरण गरिरहेका छौँ । तर अझै पनि केही बाहिर छन्, त्यसका लागि अब विशेष अपरेशन चलाइन्छ । यसमा नागरिक तहबाट पनि सहयोग अपेक्षित छ ।”

गृहमन्त्रीका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार मध्ये अधिकांश फिर्ता भइसकेका छन् भने केही डढेका छन् । उनले हालसम्म १४ हजार ५४९ जना कैदीबन्दी फरार भएको तथ्यांक सार्वजनिक गर्दै भने, “त्यसमध्ये ९ हजार ५२१ जना अर्थात् करिब ६५ प्रतिशत फिर्ता भइसकेका छन् । अझै ५ हजार १०५ जना फरार अवस्थामा छन्, जसलाई खोजीका लागि विशेष अपरेशन संचालन हुनेछ ।”

मन्त्री अर्यालले सुशासन सुनिश्चित गर्न नसकिए देश पुनः द्वन्द्वको जोखिमतर्फ धकेलिन सक्ने चेतावनी पनि दिए । “यदि सुशासन दिन सकिएन भने द्वन्द्व दोहोरिन सक्छ भन्ने ठूला संकेतहरू देखिन थालेका छन् । त्यो अवस्था केवल सत्ता परिवर्तनको होइन, सुरक्षा संकटको सुरुवात पनि हुन सक्छ,” उनले स्पष्ट पारे ।

उनले कानूनी राज्यको जगेर्ना गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै भने, “सुरक्षा संयन्त्रले आफ्नो जिम्मेवारी पुरा गर्छ, नागरिकहरूले पनि त्यसमा हातेमालो गर्नुपर्छ । राज्य र नागरिकबीचको सहकार्यले मात्र स्थायित्व सम्भव छ ।”

कार्यक्रममा गृहमन्त्री अर्यालले सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई परस्परपूरक बताउँदै अर्थतन्त्रको पुनर्जीवनका लागि दुवै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले थपे, “निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । सरकारले पनि त्यसलाई सघाउने र अनुकूल वातावरण तयार गर्ने दिशा लिन्छ ।”

सरकारको सुशासन र सुरक्षा रणनीतिलाई व्यवहारमा उतार्ने दिशामा यो विशेष अपरेशन महत्त्वपूर्ण कदम हुने संकेत गर्दै मन्त्री अर्यालले देशभरका नागरिक र स्थानीय निकायलाई समेत सहकार्यका लागि आह्वान गरे ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more