असोज १४, काठमाडौ । राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । संघले मंगलवार सार्वजनिक गरेको विज्ञप्तिमा यो निर्णयलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहमूलक कार्यको संज्ञा दिँदै तत्काल सच्याउन माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी छानबिन आयोगले कुनै प्रमाणबिना प्रारम्भिक चरणमै राहदानी रोक्काको निर्णय गरेको छ, जुन आपत्तिजनक छ । निष्पक्ष छानबिनको हामी समर्थन गर्छौं, तर छानबिन नै नगरिकन अपराधी करार गर्ने शैली अस्वीकार्य छ।”
संघले ओलीले आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई समर्पण गरेको र कुनै पनि परिस्थिति आए पनि मुलुक नछोड्ने प्रतिबद्धता जनाइसकेको व्यक्तित्वमाथि यस्तो हल्का निर्णय लिनु अराजनीतिक भएको उल्लेख गरेको छ । साथै, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा संघका पूर्व इन्चार्ज महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण रूपमा मुद्दा चलाउने प्रयास भइरहेको भन्दै आपत्ति प्रकट गरिएको छ ।
युवासंघले गृहमन्त्रालयले भाद्र २४ गतेका घटनामा संलग्नहरूलाई कानुनी कारबाही नचलाउने भनेर गरेको निर्णयलाई पनि निन्दनीय भनेको छ । संघका अनुसार यसले दण्डहीनतालाई प्रोत्साहन दिन्छ र कानुनी राज्यको उपहास हुन्छ, त्यसैले तत्काल सच्याउनुपर्ने माग गरिएको छ ।
जेन–जेड आन्दोलनबारे पनि संघले समर्थन जनाउँदै भनेको छ, “आम युवाले उठाएका मागप्रति हामी सचेत छौं र सम्बोधनका लागि प्रारम्भदेखि नै पहलकदमी गर्दै आएका छौं ।” तर वर्तमान सरकारले फागुन २१ गते प्रतिनिधिसभाको स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउनुपर्ने आफ्नो प्रमुख जिम्मेवारीलाई पन्छाएर अनावश्यक राजनीतिक प्रतिशोधमा लागिरहेको आभास भएको संघले चेतावनी दिएको छ ।
विज्ञप्तिमा संघका अध्यक्ष क्षितिज थेवेले सरकारलाई लोकतान्त्रिक बाटोप्रति केन्द्रित रहन र राजनीतिक प्रतिशोधको गलत अभ्यास तत्काल रोक्न आग्रह गरेका छन् ।















