नेपाल राष्ट्र बैंकद्वारा नयाँ १०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याइने

मंसिर ११, काठमाडौ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले रुपैयाँ १०० दरको बैंकनोट नयाँ स्वरूप एवं परिष्कृत सुरक्षा विशेषतासहित बजारमा प्रचलनमा ल्याउने सम्बन्धी आधिकारिक सूचना जारी गरेको छ । बैंकले साविककै आकार र रङ्ग कायम राख्दै सिरिज नम्बर ०० 000001 देखि ९९ 999999 सम्मका नयाँ नोटहरू २०८२ साल मंसिर  ११ गतेदेखि चलनचल्तीमा ल्याइने जनाएको छ ।

बैंकद्वारा प्रकाशित सूचनाअनुसार, नयाँ बैंकनोटमा सगरमाथाको चित्र, लालीगुराँसको जलछाप, नेपालको नक्सा, अशोक स्तम्भको द्वैध सुरक्षा धागो, “LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA” अंकित सुरक्षा चिन्ह, तथा औँलाले छाम्दा महसुस हुने स्पर्शजन्य उभार (Emboss/Feel Features) लगायतका सुरक्षा तहहरू समावेश गरिएका छन् ।
साथै, नोट हेरफेर (Tilt गर्दा) सुरक्षा धागोको रङ्ग रातोबाट हरियोमा परिवर्तन हुने विशेषता समाविष्ट रहेको पनि सूचनामा उल्लेख छ ।

सूचनामा नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने र सिरिज नम्बरहरू नेपाली र अंग्रेजी दुवैमा अंकन गरिएको जनाइएको छ ।

बैंकले यसअघि २०७८ साल फागुन ७ गते जारी भएको १०० दर (२०१९ सिरिज) का नोटमध्ये सीरिज नम्बर ०० 000001 देखि १९ 000099 तथा सीरिज नम्बर २९ 000001 देखि ९९ 034800 सम्मका सीमित नोटहरू मात्र चलनमा ल्याइएको स्मरण गराउँदै, अब पूरा सिरिज (०० 000001 देखि ९९ 999999) का नयाँ नोट चरणबद्ध रूपमा सार्वजनिक हुने स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकले नयाँ मुद्रा प्रचलनले दैनिक कारोवार सहज, सुरक्षित र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै, सर्वसाधारण तथा सरोकारवालामा सूचनाको व्यापक जानकारीका लागि यसलाई सार्वजनिक गरिएको जनाएको छ ।

 

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more