नेपाल–भारत सम्बन्ध सुधार प्रयासमा परराष्ट्रमन्त्री खनाल भारत जाँदै

७ जेठ, काठमाडौ ।  नेपाल र भारतबीच पछिल्लो समय देखिएको कूटनीतिक चिसोपना र अनिश्चितताबीच परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। जेठ १८ गतेदेखि हुने उनको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि दुई देशबीचको सम्बन्धबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा विभिन्न प्रश्न उठिरहेका बेला खनालको भारत भ्रमण हुन लागेको हो। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले द्विपक्षीय भेटवार्ताका लागि समय नदिएपछि मिश्रीको भ्रमण रोकिएको बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोरलाई समेत प्रधानमन्त्री शाहले भेट्न नमानेको विषयले सरकारको कूटनीतिक शैलीबारे थप चर्चा भएको थियो।
परराष्ट्रमन्त्री खनाल भारतको नयाँदिल्लीमा आयोजना हुने बिग क्याट अलायन्स सम्मेलनमा सहभागी हुन जान लागेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोधी ले उद्घाटन गर्ने सम्मेलन जेठ १९ र २० गते सञ्चालन हुनेछ। भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशन्कर  तथा वाणिज्यमन्त्री पियूष गोयलसँग ‘साइडलाइन’ भेटवार्ताको तयारी भइरहेको जनाइएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले भारतीय पक्षसँग ‘वान अन वान’ भेटवार्ताका लागि अनौपचारिक पहल गरिरहेको छ। ती वार्तामा नेपालले कनेक्टिभिटी, सीमा विवाद, प्रविधिमार्फत सुशासन तथा आर्थिक सहकार्यका विषय उठाउने तयारी गरेको छ।
नेपालले जनकपुर–अयोध्या रेलमार्ग, पूर्व–पश्चिम रेलमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतीय आकाश मार्ग प्रयोगको विषयमा भारतसँग सहमति खोज्ने तयारी गरेको छ। साथै विशाखापट्टनम बन्दरगाह प्रयोगमा देखिएका समस्यासमेत वार्तामा उठाइने भएको छ।
सीमा विवादतर्फ नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे आफ्नो अडान पुनः प्रस्तुत गर्ने तयारी गरेको छ। भारतले हालै लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुलाएपछि सीमा विवाद पुनः चर्चामा आएको थियो।
नेपालले भारतीय डिजिटल भुक्तानी प्रणाली युपिआई नेपाली प्रयोगकर्ताका लागि खुला गर्ने विषय पनि उठाउने तयारी गरेको छ। हाल भारतीय पर्यटकले नेपालमा क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपाली प्रयोगकर्ताले भारतमा त्यस्तो सुविधा पाएका छैनन्।
यसका अतिरिक्त पेट्रोलियम पाइपलाइन विस्तार, चिनी निर्यात प्रतिबन्ध, जलविद्युत आयोजना तथा नेपाली चियाको निर्यातमा देखिएका अवरोधबारे पनि छलफल हुने जनाइएको छ।
परराष्ट्र अधिकारीहरूका अनुसार खनालको भ्रमण सफल भए प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको वातावरणसमेत बन्न सक्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more