देउवाको स्पष्ट सन्देशः १५औँ महाधिवेशनमा खड्कालाई साथ, आफू सभापतिको उम्मेदवार नबन्ने

पुस १५, काठमाडौ ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहयोग गरेर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्। मंगलबार बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले खड्का पार्टीको उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै उनलाई नै समर्थन गर्ने बताएका हुन्।
देउवाले पार्टी विधानअनुसार आफू फेरि सभापतिको उम्मेदवार बन्न नमिल्ने स्पष्ट पारे। “विधानले तीन पटकभन्दा बढी सभापति हुन नपाइने व्यवस्था गरेको छ। त्यसैले म अब सभापतिको उम्मेदवार हुँदिनँ,” उनले भने, “तर आगामी नेतृत्वले आवश्यक ठानेर सल्लाह मागेमा म सहयोग गर्न तयार छु।”
पार्टीभित्र देखिँदै आएको नेतृत्व प्रतिस्पर्धाबारे बोल्दै देउवाले डा. शेखर कोइराला र महामन्त्री गगन थापाको नाम सभापतिको आकांक्षीका रूपमा सुनिएको स्वीकार गरे। तर उनीहरूले प्रत्यक्ष रूपमा सहयोग मागेर कुरा नगरेको देउवाको भनाइ थियो। आफूलाई भेट्न आएका नेताहरूलाई समेत पूर्णबहादुर खड्कालाई नै सहयोग गर्ने स्पष्ट जवाफ दिएको उनले बताए।
महाधिवेशनको समय र विशेष महाधिवेशनको बहसबारे देउवाले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा महाधिवेशन गर्दा पार्टीभित्र गुटगत असन्तुष्टि बढ्ने र त्यसको असर चुनावी परिणाममा पर्न सक्ने चेतावनी दिए। “महाधिवेशनमा हारजितपछि रिस–राग बाँकी रहन्छ, त्यसले चुनावमा पार्टीलाई कमजोर बनाउँछ,” उनले भने।
देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू डडेलधुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पनि स्पष्ट गरे। समानुपातिकतर्फ जान सुझाव आए पनि आफूले प्रत्यक्ष निर्वाचन नै लड्ने निर्णय गरेको उनको भनाइ थियो। “म कठिन परिस्थितिमा पनि प्रत्यक्ष चुनाव जितेर आएको हुँ, अन्तिमपटक पनि प्रत्यक्ष नै लड्छु,” उनले बताए।
राष्ट्रिय सभाको निर्वाचन र सम्भावित गठबन्धनबारे अहिलेसम्म कुनै ठोस निर्णय नभएको जनाउँदै देउवाले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नहुने संकेत गरे। तर राष्ट्रिय सभाको हकमा छलफलका लागि अझै समय बाँकी रहेको उनले उल्लेख गरे।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आफूमाथि भएको आक्रमणको प्रसंग उल्लेख गर्दै देउवाले आफूलाई नेपाली सेनाका एक कर्णेल र जेन–जी युवाहरूले जोगाएको दाबी गरे। उक्त आन्दोलनमा घुसपैठ भएको देखिएको र त्यस क्रममा कांग्रेसका नेता तथा पार्टी संरचनामाथि बढी क्षति पुगेको उनको भनाइ थियो।
देश पूर्ण रूपमा चुनावी मोडमा प्रवेश गरिसकेको उल्लेख गर्दै देउवाले निर्वाचनको वातावरण सुरक्षित र विश्वसनीय बनाउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए। सुरक्षाका चुनौती कायमै रहेकाले सबै पक्षले जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनले आग्रह गरे।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more