दिल्ली विस्फोटपछि बिहारमा उच्च सुरक्षा सतर्कता, नेपाल सीमामा निगरानी कडा

कार्तिक २४,पटना ।— दिल्लीको लालकिल्ला बाहिर भएको बम विस्फोटपछि बिहार सरकारले सम्पूर्ण प्रदेशभर सुरक्षा सतर्कता (हाई अलर्ट) जारी गरेको छ। बिहार प्रहरी मुख्यालयले विशेष गरी नेपाल र छिमेकी राज्यहरूसँग जोडिएका सीमा क्षेत्रमा निगरानी कडा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

अपर पुलिस महानिदेशक पंकज कुमार दरादका अनुसार, दिल्लीमा भएको घटनापछि बिहारका सबै जिल्लामा सुरक्षा बललाई सतर्क रहन र संवेदनशील स्थानहरूमा थप प्रहरी तैनाथ गर्न आदेश दिइएको हो। उनका शब्दमा,

“विधानसभा चुनावलाई ध्यानमा राखी पहिले नै अतिरिक्त प्रहरीबल परिचालन गरिएको छ। अहिले दिल्ली घटनापछि हामीले सीमा क्षेत्रमा थप चौकसी बढाएका छौँ।”

सुरक्षा निकायले विशेष गरी नेपालसँगको खुला सीमा, रेलवे स्टेशन, बसपार्क, बजार र भीडभाड भएका स्थानहरूमा कडाइका साथ निगरानी गरिरहेको छ।

त्यस्तै, पटना मेट्रो स्टेशन र एयरपोर्टको सुरक्षा व्यवस्थामा पनि कडा निगरानी राखिएको छ। सुरक्षाकर्मीहरूलाई शंकास्पद व्यक्ति र वस्तुहरूको खोजी तथा निगरानीमा तैनाथ गरिएको बताइएको छ।

प्रहरीले नागरिकहरूलाई अफवाहमा नफस्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी निकायलाई जानकारी दिन आग्रह गरेको छ।

बिहार सरकारले केन्द्रसँग पनि प्रत्यक्ष समन्वयमा रही सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा अभ्यास सुरु गरेको छ। दिल्ली विस्फोटपछि देशव्यापी सतर्कता जारी भइरहेका बेला बिहार सरकारले उठाएको यो कदमलाई सुरक्षाको दृष्टिले “पूर्व–सावधानीको महत्वपूर्ण पहल”का रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more