झडपपछि सिमरा विमानस्थल बन्द, पोखरेल–बस्नेत चढ्ने बुद्ध एयरको उडान रोकियो

मंसिर ३, बारा/सिमरा।  सिमरा विमानस्थल आज आकस्मिक रूपमा बन्द गरिएको छ, एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढ्ने विमान अवतरण गर्न न दिने भन्दै स्थानीय युवाहरू सडकमा उत्रिएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको उडान समेत रोकिएको छ।

बुधबार बिहान विमानस्थलको मुख्य गेटमा एमाले कार्यकर्ता र जेनजीबीच भिडन्त भएपछि सुरक्षा जोखिम बढ्दै गएपछि विमानस्थल प्राधिकरणले सबै गतिविधि स्थगित गर्दै रनवे सञ्चालन बन्द गरेको हो।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट सिमरा आउने तालिका रहेको थियो। उनीहरूको स्वागतका लागि एमाले कार्यकर्ता ठूलो संख्यामा विमानस्थल क्षेत्रतर्फ पुगेका थिए।

यसैबीच बस्नेतको विरोधमा जेनजी समूहका युवा पनि विमानस्थल गेटमा उपस्थित भएको र दुई पक्षबीच दोहोरो नाराबाजी हुँदै झडपमा रूपान्तरण भएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको प्रत्यक्षदर्शीले बताएका छन्।

झडपका कारण बुद्ध एयरको नियत समयमै उड्नुपर्ने उडान रोकिएको छ भने अन्य अस्थायी उडानहरू पनि प्रभावित भएका छन्। विमानस्थलभित्र प्रवेशद्वारदेखि सुरक्षा घेरासम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको बताएको छ भने विमानस्थल कहिले सञ्चालनमा आउने भन्नेबारे आधिकारिक सूचना भने आइसकेको छैन। स्थिति तनावग्रस्त रहेकाले थप भिडन्त रोक्न स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more