जसपा नेपालको चुनावी शंखनाद माघ ५ को बलिदानी दिवसबाट

माघ २, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ ५ गते मनाइने बलिदानी दिवसलाई आगामी प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियानको शुभारम्भका रूपमा मनाउने निर्णय गरेको छ।
एकीकृत जसपा नेपालको विहीबार सम्पन्न पहिलो केन्द्रीय समन्वय समितिको बैठकले माघ ५ गते देशभरका प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा बलिदानी दिवस आयोजना गर्ने निर्णय गरेको हो। सो दिवसलाई चुनावी अभियानको औपचारिक सुरुआतका रूपमा उपयोग गर्ने तयारी पार्टीले थालेको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिन परेकाले बलिदानी दिवस चुनावी अभियान सुरु गर्न सबैभन्दा उपयुक्त हुने ठहर गर्दै यस्तो निर्णय गरिएको केन्द्रीय समन्वय समितिका सदस्य लालकिशोर साहले मधेश टुडे सँग बताए।
उनले भने, “माघ पाँच मधेश विद्रोहको सबैभन्दा महत्वपूर्ण दिन हो। शहीद रमेश महतोको बलिदानीले मधेश आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको थियो। त्यसकै बलमा मुलुक संघीयता र समावेशीताको बाटोमा अघि बढ्यो। बलिदानी दिवसबाटै चुनावी शंखनाद गर्न पाउनु जसपाका लागि गर्वको विषय हो।”
केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको पार्टीले जनाएको छ।
त्यसैगरी, बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ। सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिनेछ।
बैठकले केन्द्रीय समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय पनि गरेको छ। राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जयप्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more