३ अषाढ, काठमाडौं । नेपालस्थित रूसी राजदूतले नेपाल सरकारबाट औपचारिक प्रस्ताव आएमा वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन सहयोग गर्न रूस तयार रहेको बताएका छन्।
नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बुधबार लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा नेपालका लागि रूसी राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले यस्तो धारणा व्यक्त गरेका हुन्।
भेटवार्ताका क्रममा नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा विकासका विविध विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रूसबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा हुनु महत्वपूर्ण अवसर भएको बताए।
उनले मानव संसाधन विकास, पर्यटन, औद्योगिक विकास तथा यातायात पूर्वाधार निर्माणमा सोभियत संघको समयदेखि नै रूसले पुर्याएको सहयोगको प्रशंसा गरे। पछिल्ला वर्षहरूमा सांस्कृतिक तथा जनस्तरीय आदानप्रदान बढ्दै गएको उल्लेख गर्दै नेपाल–रूस सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले रूसको राष्ट्रिय दिवसको अवसरमा रूसी जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका थिए।
जवाफमा राजदूत सुरोभत्सेभले नेपाल–रूस सम्बन्धलाई थप प्रगाढ बनाउन रूस प्रतिबद्ध रहेको बताउँदै जलविद्युत्, कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा थप सहयोग गर्न इच्छुक रहेको जनाए।
उनले नेपाल सरकारले आवश्यक विवरणसहित औपचारिक अनुरोध गरेमा ऐतिहासिक औद्योगिक प्रतिष्ठानका रूपमा रहेका वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनमा ल्याउन रूस पूर्ण रूपमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
नेपाल र रूसबीचको उक्त भेटलाई आर्थिक, औद्योगिक तथा विकासात्मक सहकार्य विस्तार गर्ने दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ।


















