जनकपुरधामको याज्ञवल्क्य संस्कृत माविद्वारा एसईईमा सफल विद्यार्थीलाई सम्मान

जनकपुरधाम, असार २६ –जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयले हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उतीर्ण भएका विद्यार्थीहरुलाई एक विशेष समारोहका बीच सम्मानित गरेको छ। विद्यालयले आयोजना गरेको कार्यक्रममा एसईईमा उतीर्ण भएका विद्यार्थीहरुलाई ट्रफी प्रदान गरी सम्मान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक संजय झाले दिएको जानकारीअनुसार, कूल ३०७ जना सहभागी विद्यार्थीहरूमध्ये १९७ जना विद्यार्थी परीक्षा सफलतापूर्वक उतीर्ण भएका छन्। विवरण अनुसार, सामान्य धारतर्फ २१५ जनामध्ये १४६ जना, प्राविधिक धारतर्फ ४७ जनामध्ये ४६ जना तथा संस्कृत धारतर्फ ४५ जनामध्ये ५ जना विद्यार्थी सफल भएका छन्।

कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका–८ का वडा अध्यक्ष दिनेश सिंहको अध्यक्षता तथा नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा विद्यालयका शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकसमेत उपस्थित थिए।

प्रधानाध्यापक झाका अनुसार, एसईईमा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप ट्रफी प्रदान गरिएको हो। साथै, विद्यालयमा समर्पित भावनाका साथ योगदान दिने शिक्षक तथा अन्य कर्मचारीहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको छ।

नगरप्रमुख मनोज साहले आफ्नो मन्तव्यमा याज्ञवल्क्य संस्कृत माविले जनकपुरधाममा शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनमा यस्ता संस्थाहरूको योगदान महत्वपूर्ण हुने उल्लेख गरे।

वडा अध्यक्ष दिनेश सिंहले पनि विद्यार्थीहरूको मेहनत र विद्यालयको शिक्षण व्यवस्थालाई प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनहरूमा पनि शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै जाने जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    Leave a Reply