साउन ४, जनकपुरधाम।रौतहटका उदीयमान पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कटहरिया नगरपालिका–९ निवासी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएका हुन्।
प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए र सामाजिक तथा राजनीतिक विषयमा सचेत र स्पष्ट विचार राख्ने पत्रकारका रूपमा उनी परिचित थिए। परिवारका अनुसार शनिबार दिनभर सामान्य अवस्थामै रहेका प्रजापति साँझ अचानक कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।
त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए
स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनालाई आत्महत्या भनेर उल्लेख गरेको छ। घटनास्थलमा आत्महत्या गरेको प्रमाण देखिए पनि वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी छ। शव पोस्टमार्टमका लागि गौर स्थित प्रादेशिक अस्पतालमा लगिएको छ।
रविन्द्र केही समयदेखि मानसिक तनावमा थिए। पारिवारिक कारणहरू साथै राजनीतिक दवाबसमेत हुनसक्ने अनुमान गरिएको छ।जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए । पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
















