ओलीको अभिव्यक्तिप्रति मधेशिहरुको आपत्ति, सामाजिक सञ्जालमा व्यापक आलोचना

माघ ९, दमक। — नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको एक अभिव्यक्तिलाई लिएर मधेश केन्द्रित दल तथा विभिन्न नागरिक अगुवाहरूले आपत्ति जनाएका छन्। मधेश र मधेशी समुदायको स्वाभिमानमा चोट पुग्ने आशय व्यक्त भएको भन्दै उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सामाजिक सञ्जालमा प्रसारित भिडियो क्लिपमा ओलीले मधेशलाई असभ्य, अशिक्षित र चेतनाहीन क्षेत्रका रूपमा चित्रण गरेको तथा आफ्नो निर्वाचन क्षेत्र झापालाई शिक्षित र चेतनशील क्षेत्रका रूपमा प्रस्तुत गरेको आरोप लगाइएको छ। उक्त अभिव्यक्तिपछि मधेश प्रदेशका विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा युवाहरूले सार्वजनिक रूपमा आलोचना गरेका छन्।
मधेशवादी दलका नेताहरूले यस्तो अभिव्यक्तिले क्षेत्रीय सद्भाव खल्बल्याउने र राष्ट्रिय एकतामा प्रतिकूल असर पार्ने बताएका छन्। उनीहरूले एमाले नेतृत्वबाट पटक–पटक मधेश र मैथिली संस्कृतिप्रति नकारात्मक टिप्पणी आउने गरेको आरोप लगाएका छन्।
यसअघि एमाले नेता महेश बस्नेतले गरेको मैथिली संस्कृतिसम्बन्धी टिप्पणीलाई लिएर पनि मधेशमा विरोध चर्किएको थियो। उक्त घटनापछि समेत एमाले नेतृत्वले स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै आलोचकहरूले असन्तुष्टि जनाएका छन्।
राजनीतिक विश्लेषकहरूले चुनावी माहोलमा यस्ता अभिव्यक्तिले मतदातामा नकारात्मक सन्देश जान सक्ने बताएका छन्। विशेषगरी मधेश प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको एमालेका लागि यस किसिमको विवादले चुनावी परिणाममा असर पार्न सक्ने आकलन गरिएको छ।
यता, एमाले पक्षबाट भने उक्त अभिव्यक्तिको सन्दर्भ तोडमोड गरी प्रस्तुत गरिएको दाबी गरिएको छ। पार्टी निकट स्रोतहरूले समग्र विकास र शैक्षिक सुधारको सन्दर्भमा गरिएको टिप्पणीलाई क्षेत्रीय अपमानका रूपमा व्याख्या गरिएको दाबी गरेका छन्।
घटनापछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच तीव्र बहस जारी छ। चुनावी माहोल तातेको अवस्थामा नेताहरूका अभिव्यक्तिप्रति संवेदनशीलता आवश्यक रहेको टिप्पणीसमेत भइरहेका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more