एस.एम. कलेज जनकपुरधामको छात्रवृत्ति परीक्षा सम्पन्न, उल्लेखनीय सहभागिता

साउन ३, जनकपुरधाम । बिजि न्युज रिपोर्टर— एस.एम. कलेज जनकपुरधाममा शैक्षिक सत्र २०८२/०८३ का लागि आयोजित छात्रवृत्ति परीक्षा आज सफलतापूर्वक सम्पन्न भएको छ।

कलेजका प्रधानाचार्य प्रमोद साहका अनुसार बिहान ८:३० बजेबाट सुरु भएको परीक्षा निर्धारित समयअनुसार सन्चालन भई शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। परीक्षा केन्द्रमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको र छात्रवृत्तिको अवसर प्राप्त गर्न विद्यार्थीहरूमा उत्साह देखिएको प्रधानाचार्य साहले जानकारी दिए।

“हामीले पारदर्शी र व्यवस्थित ढंगले परीक्षा सञ्चालन गरेका छौँ,” प्रधानाचार्य साहले भने, “विद्यार्थीहरूको सहभागिता निकै उत्साहजनक रह्यो, जुन कलेजप्रतिको विश्वास र छात्रवृत्तिप्रति जागरूकतालाई देखाउँछ।”

एस.एम. कलेजले प्रत्येक वर्षको शैक्षिक सत्र प्रारम्भ हुनु अघि योग्य र आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति परीक्षा सञ्चालन गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिन्छ।

परीक्षामा सहभागी विद्यार्थीहरूको उत्तरपुस्तिका मूल्यांकनपछि योग्य विद्यार्थीहरूको नाम सार्वजनिक गरिनेछ। कलेज प्रशासनका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको सूची केही दिनभित्रै प्रकाशन गरिनेछ।

छात्रवृत्ति कार्यक्रम कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुँदै आएको छ। यसले प्रतिभावान र मेहेनती विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच पुर्‍याउन सहयोग पुर्‍याउँदै आएको कलेज प्रशासनको भनाइ छ।

एस.एम. कलेज जनकपुरधाम क्षेत्रको एक प्रतिष्ठित शैक्षिक संस्था मानिन्छ, जहाँ विभिन्न संकायमा उच्च शिक्षाको अवसर प्रदान गरिन्छ। छात्रवृत्ति परीक्षाले कलेजको शैक्षिक गुणस्तर र सामाजिक समावेशी दृष्टिकोणलाई अझ सुदृढ बनाएको शिक्षा क्षेत्रका विज्ञहरूको भनाइ छ।

 

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    Leave a Reply