आफ्नै श्रीमतीको हत्या गरी जेलबाट निस्केका युवकले फेरी खुकुरी प्रहार गरी गरे अर्काको हत्या

१३ साउन, जनकपुर | श्रीमती हत्यामा ५ वर्ष कारागार बसेका एक व्यक्तिले सोमबार राति अन्धाधुन्ध खुकुरी प्रहार गर्दा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन् ।

जनकपुर–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहार गरेर १५ वर्षकी अञ्जलीकुमारी यादवको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अञ्जलीको घाँटी काटिएको छ ।

साहले सोही घरमा डेरा गरी बस्ने क्षीरेश्वरनाथ–४ का दिनेश यादवकी श्रीमती ३५ वर्षीया आशा यादवलाई पनि खुकुरी प्रहार गरेका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । हत्या गरिएकी अञ्जली आशाकी छोरी हुन् ।

यस्तै, त्यही कोठामा बस्ने धनुषा मिथिला नगरपालिका–१ ढल्केवरका भोगिन्द्र यादवकी १४ वर्षिया छोरी राधा यादवमाथि पनि साहले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ ।

घाइतेहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि साह फरार छन् । साह आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् । घटनाको अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more

    Leave a Reply