२३ चैत, काठमाडौ । — स्वर्णिम वाग्ले ले हालै केही व्यवसायीमाथि गरिएको धरपकड मुलुकलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट बाट बाहिर निकाल्ने उद्देश्यले गरिएको स्पष्ट पारेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको कुराकानीमा मन्त्री वाग्लेले दीपक भट्ट र सुलभ अग्रवाललगायत व्यवसायीमाथि भएको कारबाही सामान्य कानुनी प्रक्रिया भएको उल्लेख गर्दै अन्य व्यवसायीहरू आत्तिन नपर्ने बताएका हुन्। “सरकारले धरपकड गरेर निजी क्षेत्रलाई आतंकित पार्ने नीति लिएको छैन,” उनले भने।
उनका अनुसार उक्त गिरफ्तारी गृह मन्त्रालय को पहलमा नभई अर्थ मन्त्रालयकै पहलमा भएको हो। उनले आर्थिक अपराध भए कानुनी दायराभित्रै कारबाही हुने तर व्यवसायीलाई हतोत्साहित गर्ने कुनै नीति नरहेको प्रष्ट पारे।
मन्त्री वाग्लेले स्टक मार्केट मा अनावश्यक त्रास फैलिन नदिन पनि आग्रह गरे। “व्यवसायीलाई हतकडी लगाएर जेल लैजाने शैली हाम्रो उद्देश्य होइन, कानुनअनुसार प्रक्रिया अघि बढ्छ,” उनले भने।
उनले सरकारको प्राथमिकता आर्थिक अपराध नियन्त्रणसँगै लगानी वातावरणको संरक्षण र निजी क्षेत्रको प्रोत्साहन रहेको बताए। साथै, व्यवसायीहरूलाई डिजिटलाइजेशन, वित्तीय पारदर्शिता र कर अनुपालनमा जोड दिन सुझाव दिएका छन्।
मन्त्री वाग्लेले अन्त्यमा मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै व्यवसायी तथा लगानीकर्तालाई ढुक्क भएर कारोबार गर्न आग्रह गरेका छन्।



















