मधेशमा अत्यधिक गर्मी : जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप बढ्यो

१९ जेठ, जनकपुरधाम।  जनकपुरधामसहित मधेश प्रदेशमा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। बिहान सूर्योदयसँगै साँझसम्म टन्टलापुर घाम लाग्ने क्रम जारी रहँदा जनजीवन प्रभावित बन्न थालेको छ।
चर्को घाम र बढ्दो तापक्रमका कारण मध्याह्नको समयमा घर बाहिर निस्कनै मुस्किल हुने गरेको स्थानीयवासी बताउँछन्। अत्यधिक गर्मीका कारण बजार क्षेत्रका सडक दिउँसो सुनसान देखिन थालेका छन् भने सरकारी कार्यालयहरूमा सेवाग्राहीको संख्या समेत घटेको छ। गर्मीले उद्योग तथा व्यवसायिक गतिविधिमा पनि असर पारेको व्यवसायीहरूको भनाइ छ।
चिकित्सकहरूका अनुसार गर्मीसँगै विभिन्न सरुवा रोगका बिरामीको संख्या पनि बढ्न थालेको छ। प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकका अनुसार अहिले दैनिक रूपमा भाइरल ज्वरो, टाइफाइड, निमोनिया, झाडापखाला, घाउ–खटिरालगायत समस्याका बिरामी अस्पताल पुग्ने क्रम बढेको छ।
गर्मीका कारण विशेषगरी विद्यालय जाने साना बालबालिका, वृद्धवृद्धा, अशक्त, किसान तथा मजदुर बढी प्रभावित भइरहेका छन्। अत्यधिक गर्मीका कारण विद्यालयका कक्षाकोठामा पठनपाठनसमेत प्रभावित बन्न थालेको शिक्षक तथा अभिभावकहरू बताउँछन्। विद्यार्थीहरूको शरीरमा घमौरा तथा बिमिरा देखिन थालेको र शरीर चिलाउने समस्याका कारण पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ भइरहेको जनाइएको छ।
समय–समयमा हुने विद्युत् अवरोधले गर्मीको समस्या झनै बढाएको अभिभावकहरूको गुनासो छ। पंखा तथा कूलर सञ्चालनमा समस्या हुँदा विद्यार्थी तथा सर्वसाधारण थप समस्यामा परेका छन्।
यता गर्मी बढेसँगै बजारमा चिसो पेय पदार्थको माग ह्वात्तै बढेको छ। जनकपुरधामका होटल, चोक तथा बजार क्षेत्रमा लस्सी, उखुको जुस, सर्बत, बरफ, कुल्फी तथा आइसक्रिमको व्यापार गर्नेहरूको संख्या बाक्लिन थालेको छ। व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा चिसो पेय पदार्थको बिक्री उल्लेख्य रूपमा बढेको छ।

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

    Read more