७ जेठ,जनकपुरधाम। जनकपुरधाममा खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर उपभोक्ताहरूबाट गुनासो आउन थालेको छ। सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी रकम असुलिएको भन्दै उपभोक्ताहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
सरकारको नियमअनुसार ग्राहक आफैं ग्यास सिलिन्डर लिन जाँदा प्रतिसिलिन्डर रु. ११०० र व्यवसायीले घरमै पु¥याएमा रु. ११५० लिनुपर्ने व्यवस्था रहेको छ। तर जनकपुरधामका केही निजी ग्यास व्यवसायीहरूले उपभोक्ता आफैं डिपोमा पुगेर ग्यास लैजाँदा समेत रु. ११२५ वा सोभन्दा बढी रकम लिइरहेको आरोप उपभोक्ताहरूले लगाएका छन्।
उपभोक्ताहरूका अनुसार कुनै स्पष्ट कारण वा अतिरिक्त सेवा बिना नै तोकिएको मूल्यभन्दा बढी रकम असुलिनु उपभोक्ता अधिकारविपरीत भएको बताएका छन्। बजारमा एउटै ग्यासको फरक–फरक मूल्य लिइन थालेपछि सर्वसाधारण मारमा परेको उनीहरूको भनाइ छ।
स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकाय र उपभोक्ता संरक्षण संस्थाहरूलाई तत्काल बजार अनुगमन गर्न आग्रह गरेका छन्। नियमविपरीत बढी शुल्क लिने व्यवसायीमाथि कारबाही गरी उपभोक्तालाई राहत दिनुपर्ने मागसमेत गरिएको छ।
उपभोक्ताहरूले बजारमा भइरहेको यस्तो मनपरी नियन्त्रण नभए दैनिक उपभोग्य वस्तुको मूल्यमा थप अस्थिरता बढ्ने देखिन्छ।
















