६ जेठ, काठमाडौ । राष्ट्रिय सभा सदस्य सांसद महन्त ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन्।
बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताएका हुन्।
बैठकमा धारणा राख्दै उनले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको उल्लेख गर्दै अब सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले शेर बहादुर देउवा, आरजु राणा लगायत विदेशमा रहेका नेता तथा मारवाडी समुदायका व्यवसायीहरूलाई मातृभूमि फर्कन आग्रह गरे।
अध्यक्ष ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन तथा कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई सचेत गराएका थिए। उनले महिलामाथि हुने हिंसा र अपमान अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नहरूले ढिलोचाँडो सजाय भोग्नुपर्ने धारणा राखे।
महिलाको सम्मानको विषयलाई उनले पौराणिक पात्र सीता र द्रौपदीको प्रसंगसँग जोड्दै महिलामाथिको अपमानलाई ठूलो पापका रूपमा चित्रण गरे।
उनले भने, “अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौँ। हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ। पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन्।”
राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा जोड दिए। उनले वर्तमान राजनीतिक नेतृत्व तथा शक्ति केन्द्रहरूप्रति व्यङ्ग्य गर्दै मुलुकको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
त्यस्तै, मधेस केन्द्रित दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले ‘युनाइटेड मधेस’ पनि यस प्रक्रियामा सहभागी रहेको जानकारी दिए।
बैठकमा उनले उठाएका केही विषयमा अन्य सदस्यहरूले स्पष्टीकरण माग गरेपछि ठाकुरले आफ्ना भनाइहरू राजनीतिक सद्भाव तथा राष्ट्रिय एकताको पक्षमा रहेको प्रस्ट पारे।
















