१ असारदेखि कक्षा ११ को पठनपाठन सुरु हुने

६ जेठ, काठमाडौं । कक्षा ११ को पठनपाठन आगामी १ असारदेखि सुरु हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ असारबाट कक्षा सञ्चालन गर्ने कार्ययोजना तयार पारेको जनाएको छ।

मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार कक्षा ११ सञ्चालनसम्बन्धी फाइल तयार भइसकेको छ भने केही दिनभित्र औपचारिक निर्णय हुने बताइएको छ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै सार्वजनिक भएकाले कक्षा ११ को शैक्षिक गतिविधि पनि समयमै अघि बढाउन लागिएको हो। यसपटक एसईईको नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै प्रकाशित गरिएको थियो। २८ वैशाखमा नतिजा सार्वजनिक भएपछि विद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रिया तीव्र बनाएका छन्।

शिक्षा मन्त्रालयले शैक्षिक सत्र ढिलो नहोस् र विद्यार्थीहरूको सिकाइ प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले समयमै कक्षा सञ्चालनको तयारी गरेको जनाएको छ।

सामुदायिक तथा निजी विद्यालयहरूले पनि १ असारदेखि कक्षा सञ्चालन गर्नेगरी आवश्यक तयारी गरिरहेका छन्। यसवर्षको शैक्षिक सत्र १५ वैशाखबाट सुरु भएको भए पनि सिकाइमा असर नपर्ने गरी सरकारले वैकल्पिक योजना अघि सारेको छ।

सरकारले हिउँदे तथा वर्षे बिदा कटौती गर्ने, साथै शुक्रबार पनि पूरा समय पठनपाठन सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more