जनकपुरधाम । जनकपुरधाम उप महानगर पालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत (निजी तथा आवासीय) विद्यालयलाई अनुमति प्राप्त कक्षाभन्दा बाहिर कक्षा सञ्चालन नगर्न कडा निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८३ देखि जुन विद्यालयले जति कक्षासम्म सञ्चालन अनुमति पाएको छ, सोहीअनुसार मात्रै कक्षा सञ्चालन गर्नुपर्नेछ ।
सूचनामा अनुगमनका क्रममा वा अन्य कुनै माध्यमबाट नियमविपरीत विद्यालय सञ्चालन भएको पाइएमा त्यस्ता विद्यालयलाई अवैध सूचीमा राखी कारबाही गरिने चेतावनी दिइएको छ । अनुमति नै नलिई सञ्चालन भएका संस्थामाथि पनि कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले अभिभावकलाई पनि सचेत रहन आग्रह गरेको छ । विद्यार्थी भर्ना गराउँदा सम्बन्धित विद्यालय अनुमति प्राप्त हो वा होइन तथा कुन कक्षासम्म सञ्चालन अनुमति रहेको छ भन्ने विषय अनुमति पत्र हेरेर यकिन गर्न अनुरोध गरिएको छ ।
शिक्षा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो कदम चालिएको उपमहानगरपालिकाले जनाएको छ ।















