१२ चैत , जनकपुरधाम। भोलि राम नवमी का अवसरमा आयोजना गर्न लागिएको शोभायात्रा कार्यक्रमलाई जिल्ला प्रशासनले धनुषाले अनुमति नदिँदा जनकपुरधाम मा विवाद उत्पन्न भएको छ।
हिन्दु सम्राट नेपाल, लक्ष्मिनिया नगर शाखाले चैत १३ गते बिहान ११ बजेदेखि लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडास्थित एसीसी इटा भट्टा र बोहरवाबाट सुरु हुने गरी विभिन्न रुट हुँदै जानकी मन्दिर सम्म शोभायात्रा सञ्चालनका लागि अनुमति माग गरेको थियो।
तर जिल्ला सुरक्षा समिति धनुषाको चैत ११ गते बसेको बैठकले वर्तमान अवस्थामा जिल्लाको शान्ति सुरक्षा, धार्मिक सद्भाव तथा सामाजिक एकता कायम राख्न आवश्यक ठहर गर्दै सो दिन शोभायात्रा, र्याली तथा प्रदर्शन गर्न उपयुक्त नहुने निर्णय गरेको छ। समितिले जानकी मन्दिर परिसरमा पूजा–पाठ र धार्मिक प्रवचन बाहेकका अन्य कार्यक्रम सञ्चालन गर्न समेत निषेध गरेको जनाएको छ।
यस निर्णयप्रति हिन्दु सम्राट सेनाका अध्यक्ष राजेस यादव ले आपत्ति जनाएका छन्। उनले हरेक वर्ष रामनवमीका अवसरमा भव्य रूपमा शोभायात्रा आयोजना हुँदै आएको उल्लेख गर्दै यस वर्ष अनुमति नदिइनु दुःखद र खेदजनक भएको प्रतिक्रिया दिएका छन्।
उनका अनुसार प्रशासनको निर्णयले धार्मिक आस्थामाथि आघात पुगेको महसुस भएको छ।
यस घटनाले धार्मिक स्वतन्त्रता, सुरक्षा व्यवस्थापन र सामाजिक सद्भावबीच सन्तुलन कायम गर्ने विषयमा पुनः बहस सुरु भएको छ।



















