सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघको आपत्ति, क्षमा माग्न माग

३० फागुन, काठमाडौ ।  — शिक्षक र शिक्षण पेसाबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाल शिक्षक महासंघले नवनिर्वाचित सांसद खगेन्द्र सुनारप्रति आपत्ति जनाएको छ। महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षक पेसाप्रति अमर्यादित शब्द प्रयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासंघका अनुसार हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो पुरानो भए पनि उक्त अभिव्यक्तिले शिक्षक समुदायको मर्यादामा आघात पुगेको भन्दै आपत्ति जनाइएको छ। उक्त भिडियो दलित विद्यार्थीमाथि भएको जातीय विभेदको घटनापछि सांसद सुनारले दिएको अभिव्यक्तिसँग सम्बन्धित रहेको बताइएको छ। उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त भिडियो पुनः सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको महासंघले जनाएको छ।
विज्ञप्तिमा महासंघले देशमा विद्यालय शिक्षाको विकास तथा शिक्षक–कर्मचारीको हक, हित र मर्यादाको संरक्षणका लागि आफूहरू सदैव प्रतिबद्ध रहेको उल्लेख गरेको छ। साथै शिक्षक तथा कर्मचारीको पेसागत मर्यादा र स्वाभिमान विपरीतका कुनै पनि अभिव्यक्ति वा व्यवहार अस्वीकार्य हुने पनि महासंघले स्पष्ट पारेको छ।
महासंघले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित एक सांसदले शिक्षक र शिक्षण पेसाप्रति अमर्यादित शब्द प्रयोग गरेको भन्दै त्यसप्रति खेद प्रकट गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नो पदीय गरिमा समेत बिर्सेर गरिएको यस अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसप्रति खेद प्रकट गर्दै सम्बन्धित व्यक्तिलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत गराउन चाहन्छौं।”
महासंघले शिक्षक र शिक्षण पेसाको सम्मान कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने पनि जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more